तेहरान । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच इरानी विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया दिएका छन्। उनले वर्तमान परिस्थितिमा अमेरिकासँग कुनै पनि किसिमको सम्झौताको सम्भावना समाप्त भएको उल्लेख गर्दै अमेरिकालाई ‘सबक सिकाउनु’ नै इरानको मुख्य प्राथमिकता रहेको बताएका छन्।
अमेरिकी र इजरायली आक्रमणमा इरानको एक महत्वपूर्ण पुल निशानामा परेपछि विदेशमन्त्री अराघचीको यस्तो भनाइ आएको हो। उनले भनेका छन्, “ध्वस्त भएका पुलहरू पुनः निर्माण गर्न सकिन्छ, तर अमेरिकालाई अनुशासनमा ल्याउने अवसर बारम्बार मिल्दैन।”
भर्खरै सार्वजनिक भएका रिपोर्टहरूका अनुसार इरानले मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँगको वार्ता र युद्धविरामका प्रस्तावहरूलाई अस्वीकार गरिदिएको छ। इस्लामावादमा हुने भनिएको अमेरिकी अधिकारीहरूसँगको भेटवार्तामा सहभागी हुन इरान तयार देखिएको छैन। इरानले एक मित्र राष्ट्रमार्फत पठाइएको ४८ घण्टाको युद्धविराम प्रस्तावलाई समेत ‘अस्वीकार्य’ भन्दै फिर्ता गरिदिएको छ।
इरानी विदेशमन्त्रीले बुशहर परमाणु ऊर्जा केन्द्रमा भइरहेका लगातारका आक्रमणहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। शनिबार उक्त केन्द्रमा चौथो पटक आक्रमण भएको थियो, जसमा एक सुरक्षाकर्मीको मृत्यु भएको छ।
यस विषयमा चेतावनी दिँदै अराघचीले भनेका छन्, “यदि परमाणु केन्द्रमा हुने आक्रमणका कारण रेडियोधर्मी विकिरण (Radiation) फैलियो भने त्यसले तेहरानलाई मात्र होइन, छिमेकी देशका राजधानीहरूमा समेत जनजीवन समाप्त पारिदिनेछ।” उनले परमाणु केन्द्रमा भइरहेका आक्रमणमा पश्चिमी देशहरू मौन बसेकोमा आपत्ति समेत जनाएका छन्।
इरानले आफूमाथि ‘अवैध युद्ध’ थोपरिएको दाबी गर्दै यसको अन्त्य निर्णायक र स्थायी हुनुपर्ने अडान राखेको छ। आफ्ना आधारभूत संरचनाहरूमा भइरहेका क्षतिको बदला लिन इरान जुनसुकै हदसम्म जान तयार रहेको संकेत विदेशमन्त्रीको बयानले दिएको छ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) का अनुसार बुशहर परमाणु केन्द्रमा हालसम्म विकिरणको स्तरमा कुनै वृद्धि देखिएको छैन। तर, लगातारका आक्रमणले मध्यपूर्वमा ठूलो मानवीय र वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम बढेको छ।