वासिङ्टन डीसी: अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) मा एक अप्रत्याशित सैन्य फेरबदल भएको छ। रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) जनरल र्यान्डी जर्जलाई आफ्नो पदबाट तुरुन्तै राजीनामा दिन निर्देशन दिएका छन्।
पेन्टागनका मुख्य प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै जनरल जर्जले अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफ पदबाट अवकाश लिन लागेको पुष्टि गरेका छन्।
जनरल जर्जलाई हटाउनुको पछाडि कुनै ठोस कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। यद्यपि, रक्षा विभागका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजसँग कुरा गर्दै भनेका छन्:”हामी उनको सेवाका लागि आभारी छौँ, तर सेनामा नेतृत्व परिवर्तन गर्ने समय आएको छ।”
जनरल जर्जको अवकाशपछि अब सेनाका उपप्रमुख जनरल क्रिस्टोफर लानेभले कार्यवाहक सेना प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नेछन्। प्रवक्ता पार्नेलले लानेभलाई “युद्ध-परीक्षित र लामो अनुभव भएका नेता” भनेर प्रशंसा गरेका छन्।
र्यान्डी जर्जलाई सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सेना प्रमुखको पदमा नियुक्त गरेका थिए। सामान्यतया अमेरिकी सेना प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ, तर जर्जले कार्यकाल पूरा हुनुअघि नै पद छाड्नुपरेको छ।
जर्ज चर्चित वेस्ट पोइन्ट मिलिटरी एकेडेमीका उत्पादन हुन् र उनले दशकौँसम्म अमेरिकी सेनामा सेवा गरेका छन्।
पेन्टागनले जर्जको दशकौँ लामो सेवाको प्रशंसा गर्दै उनको सुखद भविष्यको कामना गरेको छ। रक्षामन्त्री हेग्सेथले यो नेतृत्व परिवर्तनले सेनालाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरेका छन्।
यो कदमलाई ट्रम्प प्रशासनले रक्षा विभागमा गर्न खोजेको व्यापक फेरबदल र नयाँ सैन्य रणनीतिको हिस्साका रूपमा हेरिएको छ।