इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

  • बिहिबार, चैत्र १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।

सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुद्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ । उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण सङ्कलन भइरहेको छ।

भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । कम्पनपछि त्यस क्षेत्रमा दर्जनौँ परकम्प (आफ्टरसक्स) समेत महसुस गरिएको छ, जसमा ५.९ म्याग्निच्युडसम्मका झट्का समावेश छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार भूकम्प निकै लामो समयसम्म महसुस भएको थियो । मनाडोमा सडक खाद्य विक्रेता सिती रोहायतीले भूकम्प आएको क्षण सम्झिँदै आफ्नो परिवारलाई बचाउन आफूले तुरुन्त बाहिर निकाल्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठूलो चिन्ता आफ्ना बालबालिकालाई सुरक्षित राख्नु थियो ।

त्यस्तै, उत्तरी मालुकुको टेर्नेटका एक स्थानीय बासिन्दाले भूकम्प अत्यन्तै शक्तिशाली र एक मिनेटभन्दा बढी समयसम्म चलेको अनुभव सुनाउनुभयो । घरभित्र रहेका मानिसहरू हतारहतार बाहिर निस्किएका थिए भने कतिपयले दैनिक कामकाज बीचमै छोडेर ज्यान जोगाउन दौडिएका थिए ।

इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार उत्तरी मालुकु, उत्तरी सुलावेसी र गोरोन्टालोका विभिन्न नौ स्थानमा समुद्री छालको प्रभाव देखिएको थियो, जसमा सबैभन्दा उच्च छाल उत्तरी मिनाहासामा ७५ सेन्टिमिटरसम्म पुगेको थियो ।

जापान, ताइवान, गुआम र पलाउसहित अन्य प्रशान्त क्षेत्रहरूमा साना छालहरूको सम्भावना औँल्याइए पनि ठूलो जोखिम देखिएको थिएन । जापान मौसम विज्ञान एजेन्सीले समुद्री सतहमा सामान्य परिवर्तन मात्र हुन सक्ने जनाएको थियो ।

इन्डोनेसिया ‘रिङ अफ फायर’ नामक भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ यस्ता शक्तिशाली भूकम्प बारम्बार आउने गर्छन् । सन् २००४ मा आचे क्षेत्रमा आएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीले एक लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी