अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध धेरै छिट्टै समाप्त हुन सक्ने बताएका छन्। ट्रम्पले अमेरिकी सेना अबको दुई देखि तीन हप्ताभित्र इरानबाट बाहिरिने दावी गरेका हुन्।
ह्वाइट हाउसमा तेल र ग्यासको बढ्दो मूल्यका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “मलाई इरानबाट बाहिर निस्कनु छ र हामी धेरै छिट्टै त्यसो गर्नेछौँ। हामी इरानबाट बाहिर निस्कने बित्तिकै तेल र ग्यासको मूल्य ह्वात्तै घट्नेछ।” फेब्रुअरीदेखि सुरु भएको युद्धका बारेमा ट्रम्पले गरेको यो नयाँ दावी हो। यसअघि पनि उनले युद्ध अन्त्यका विषयमा पटक-पटक फरक बयान दिँदै आएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार थप जानकारी दिँदै अमेरिकी सेनाले इरानमा निकै शक्तिशाली हमलाहरू गरिरहेको बताए। उनले भने, “हामीले मिसाइल बनाउने उनीहरूका धेरै ठाउँहरू ध्वस्त पारिदिएका छौँ। हामी आफ्नो काम सकिरहेका छौँ र मलाई लाग्छ यो पूरा हुन अब दुई हप्ता वा केही दिन मात्र लाग्नेछ। हामी छिट्टै इरानबाट बाहिर आउनेछौँ।”
आफ्नो सम्बोधनका क्रममा ट्रम्पले इरानमा अब अली खामेनीको शासन नरहेको समेत दावी गरे। उनले त्यहाँ सत्ता परिवर्तन भइसकेको उल्लेख गर्दै भने, “हामीले एकपछि अर्को गर्दै त्यहाँको सरकार हटायौँ। अहिले त्यहाँ फरक खालका मानिसहरूको समूह छ, जो पहिलेभन्दा धेरै समझदार र तर्कसंगत छन्। इरानमा हामीले जे गरेका छौँ, त्यो निकै उत्कृष्ट छ।”