बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी ९बीएनपी० ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।
उनी बेलायतका १७ वर्ष निर्वासित जीवन बिताएपछि गत जनवरी २५ तारिख मात्र देश फर्किएका थिए।
जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११(दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख सफिकुर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्।
अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्।
सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव भएको हो।
यस क्रममा खुलनास्थित एक मतदान केन्द्र बाहिर जमात(ए-इस्लामीका कार्यकर्ताहरूसँग झडप हुँदा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ।
यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मतदान सम्पन्न भएपछि बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले बिहीबार भने, ‘आज नयाँ बंगलादेशको जन्म भएको छ।’
अर्कातर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै रद्द गर्न आह्वान गरेकी छन्। उनले युनुसको राजीनामा पनि मागेकी छन्।
यो चुनावमा उनको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको थियो।
बंगलादेशमा १४ सयको ज्यान जानेगरी भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना २०२४ अगस्ट ५ का दिन भारत भागेकी थिईन् ।
बंगलादेशको यो विद्रोहमा अमेरीकी भूमिका माथि प्रश्न उठ्दै आएको थियो ।