जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकाङ्क्क्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाब झेले पनि ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गर्नुभएको हो ।

ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ । विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपी हाल विश्वासको सङ्कटमा परे पनि उहाँले दक्षिणपन्थी एजेन्डामार्फत अर्थतन्त्र र सैन्य क्षमता बलियो बनाउने लक्ष्य राख्नुभएको छ । चीनसँग बढ्दो तनावका बीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ बनाउनु उहाँका प्रमुख प्राथमिकता हुन् ।

अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकी अल्ट्राकन्जरभेटिभ ताकाइचीले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ भन्ने नारासहित सक्रिय नेतृत्वको प्रतिज्ञा गर्नुभएको छ । उहाँको स्पष्ट र कडा शैलीले युवा मतदातामाझ पनि समर्थन पाएको देखिन्छ ।

हालैका सर्वेक्षणले तल्लो सदनमा एलडिपीको उल्लेखनीय जित हुनसक्ने सङ्केत गरेका छन् । नयाँ मध्यमार्गी गठबन्धन र बढ्दो अति–दक्षिणपन्थी समूहहरू उदाए पनि विपक्षीले ठोस चुनौती दिन सक्ने अवस्था कमजोर देखिएको छ । ताकाइचीले आफ्नो दल एलडिपीले नयाँ साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर ४६५ सिटको तल्लो सदनमा बहुमत हासिल गर्ने अपेक्षा गर्नुभएको छ ।

प्रमुख जापानी अखबारहरूको सर्वेक्षणअनुसार एलडिपीले एक्लै साधारण बहुमत ल्याउन सक्ने सम्भावना छ भने गठबन्धनले करिब ३०० सिट जित्न सक्छ । यदि बहुमत प्राप्त गर्न असफल भए आफूले राजीनामा दिने ताकाइचीको चेतावनी छ ।

ताकाइचीको सम्भावित ठूलो जितले जापानको सुरक्षा, आप्रवासन र अन्य नीतिहरूलाई दक्षिणतर्फ उल्लेखनीय रूपमा मोड्न सक्ने अनुमान गरिएको छ । उहाँले सैन्य क्षमता विस्तार, हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने र युद्धपछिको शान्तिवादी नीतिबाट क्रमशः टाढा जाने वाचा गर्नुभएको छ । साथै विदेशीहरूमाथि कडा नीति, जासुसीविरोधी उपाय र रक्षा खर्च वृद्धि गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ, जसबारे नागरिक अधिकार कमजोर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

आइतबारको मतदान टोकियोसहित देशभर ताजा हिमपातका बीच सुरु भएको हो । पछिल्ला हप्ताहरूमा उत्तरी जापानमा परेको भारी हिमपातले सडक अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ, जसका कारण केही क्षेत्रमा मतदान र मतगणनामा ढिलाइ हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी