एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद रोक्न सहमत भएको बताएका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब दिनु आवश्यक रहेको र यसबाट तेल खरिद गर्ने देशले अप्रत्यक्ष रुपमा रुसलाई युद्धमा सहयोग गरिरहेको ट्रम्पको दाबी छ ।
ट्रम्पले भने, ‘रुसले पहिलो साता युद्ध जित्ने भनेको थियो, तर चार वर्षदेखि यो (रुस–युक्रेन युद्ध) चलिरहेको छ। म यो युद्ध अन्त्य भएको हेर्न चाहन्छु। भारतले रुसबाट तेल किनेकोमा म खुसी छैन। आज उसले रुसबाट तेल नकिन्ने आश्वासन दिएको छ । यो ठूलो कदम हो ।’
रुसको आम्दानीमा अंकुश लगाउनका लागि ट्रम्प प्रशासनले चीनलगायत अन्य व्यापारिक साझेदारहरूलाई पनि रुसबाट तेल खरिद रोक्न दबाब दिइरहेको छ।
ट्रम्पले भारतले ‘तत्काल’ तेल आयात रोक्न नसक्ने तर संक्रमण ‘प्रक्रियाको एक हिस्सा’ र ‘छिट्टै पूरा हुने’ बताए। ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा ५० प्रतिशतसम्म कर लगाएको छ ।
ट्रम्पले यो ठूलो करलाई रुसबाट तेल र हतियार खरिद गरेकोमा भारतलाई दिइएको ‘दण्ड’को रूपमा व्याख्या गरेका छन् । यी करहरू अगस्टदेखि लागू भएका छन् र यसलाई भारतका लागि ठूलो झट्का मानिएको छ। यसमा रूससँगको कारोबारमा २५ प्रतिशत अतिरिक्त शुल्क पनि समावेश छ।
ः