‘ऊनको स्विटर’: फक्तालुङको काखमा मौलाएको लिम्बू संस्कृति

‘ऊनको स्विटर’: फक्तालुङको काखमा मौलाएको लिम्बू संस्कृति

  • शनिबार, जेष्ठ १०, २०८२
  • भीष्म बाँस्कोटा

  • 9.2K
    SHARES

‘ऊनको स्विटर’ चलचित्र हाल प्रदर्शन भइरहेको छ। यो चलचित्रमा पृथक् संस्कृतिको प्रतिनिधित्व गर्ने नारी र पुरुषबिचको प्रेम प्रसङ्ग, सिमाना एवं समाजमा सिर्जना भएका विभिन्न व्यवधानरूपी पर्खाललाई पस्कने प्रयत्न गरिएको छ।

यो चलचित्र मूलतः जातीय विभेदमा अल्झिएको प्रेमको कथा हो, जसमा काफ्ले र गुरुङसेनी चरित्रको प्रेमकथा उनिएको छ। यसमा नेपाली बहुलवादी समाज र प्रेमको कथालाई सजीव रूपमा परिभाषित गरिएको छ।

अन्तरजातीय प्रेमको विषयवस्तुलाई सटिक रूपमा समेटिएको यो चलचित्रमा आत्मिक प्रेम, समर्पण र त्यागले कसरी प्रेमलाई परिभाषित गर्छ भन्ने कुरालाई दर्साइएको छ। चलचित्रमा अविवाहित युवायुवतीबिच हुने सांस्कृतिक अन्तरघुलनदेखि विनयशीलता, आर्दशता, सद्भाव र प्रणयसूत्रमा बाँधिएर कसरी चोखो र पवित्र प्रेम गर्छ भन्ने चित्रित छ।

वास्तवमा यो चलचित्र किरात–लिम्बू समुदायमा बसोबास गर्ने काफ्लेको जीवन कहानी हो। जातीय विभेदका कारण धरणीधर र फूलमायाको प्रेमकहानीमा देखापर्ने विभिन्न आरोहअवरोहरूपी घुम्तीलाई ओजपूर्ण किसिमबाट प्रस्तुत गर्न सक्नुमा निर्देशक चौहानको अथक साधना मुखरित भएको छ।

संस्कृतिको मौलिक झल्को

लिम्बू समुदायको मौलिक संस्कृति र विरासतको प्रतिबिम्ब हो ‘ऊनको स्विटर’। यसमा लिम्बूको भौतिक संस्कृतिसाथै मौलिक र परम्परागत सांस्कृतिक अभ्यास, बोलीको छुट्टै लवज, आभूषण, परम्परागत गरगहना, चालचलन, रहनसहन, रीतिरिवाज लगायतका अभौतिक संस्कृतिका विविध आयाम देख्दा दर्शक लिम्बू समुदायमै रहेको अनुभूति गर्छन्। मितेरी सम्बन्ध गाँस्ने पुरानो चलन, अर्मपर्मको चलन, स्थानीय हाटमेला भर्ने र लिङ्गेपिङ खेल्ने चलनले चलचित्रमा लिम्बूको मौलिक संस्कृतिको झझल्को दिन्छ।

धाननाच गरी प्रणयसूत्रमा बाँधिनु र घर गृहस्थीमा प्रवेश गर्नु लिम्बू समुदायका लागि नौलो होइन। धान नाच्नु र हाकपारे गाउनु लिम्बूको जीवनशैली हो। त्यस्तै लिम्बूमा प्रचलित ख्याली छोटो मुक्तकसरह हुन्छ भने पालम हाँस्यरसप्रधान हुन्छ। यो प्रेमगान हो। लिम्बू समुदायलाई बचाउने आधार हो पालम। लिम्बू समुदायमा आफ्ना कुटुम्ब (तरुनी तन्नेरी) सँग पालम खेलिन्छ। यो चलचित्रले मौलिक लिम्बू संस्कृतिलाई न्याय गरेको छ।

चलचित्रमा गाउँघरमा बेलाबखत हाटबजार भर्ने चलन, पालम नाच्ने परम्परा, भाले लखेट्दा र लालटिनको सहारामा स्वेटर बुन्दाको परिदृश्य, अटोग्राफ भराउने प्रचलन, दलितको झुपडी, याक र भेडीगोठ, लेकको आलु, सगुनस्वरूप दिइने रक्सी, मित लगाउने र गाह्रोमा मद्दत गर्ने चलन अवश्य पनि ग्रामीण पहाडी परिवेशमा मौलाएको मौलिक संस्कृति र रहनसहनलाई सजीव रूपमा उतारिएको छ।

सङ्गीत संयोजन

गायिका झुमा लिम्बूले गाएको उल्लिखित काफ्ले बोलको गीतको चर्चाले चलचित्रलाई चिनाउन सहयोग ग¥यो। चलचित्रमा गायक सुजन चापागाईंले गीत गाए भने परीक्षा लिम्बू र एलेक्स विश्वकर्माले कम्मर भाँची भाँची नाचे। यसले कोशी प्रदेशअन्तर्गत पर्ने पाँचथरको लिम्बू समुदायको मौलिक परम्परा, कला, शिल्प, संस्कृति र सभ्यतालाई सबैसामु उजागर गरिदियो। त्यसमा पनि झुमा लिम्बू र निर्देशक चौहानलाई सफलताको सिँढी चढाउन दर्विलो आधार तय गरिदियो।

चलचित्रमा ‘जून हेर्नु तिमी माथि माथि सगरको, म हेर्छु मेरो जून तिम्रो नजरको’, ‘मखमली चोलीमाथि छड्के लायौ घलेकी, रूपै सुन्दर मेरी हजुर धपक्कै बलेकी’ बोलका गीत पनि श्रोताले रुचाएका छन्। ती गीतको रचना हर्क साउदले गरेको छन् भने स्वर र सङ्गीत सुजन चापागाईं र सुनिता थेगिमले भरेका छन्।

द्वन्द्व र चलचित्र परिवेश

काफ्ले र लिम्बू समुदायबिचको विभेद, अल्झन अनि सांस्कृतिक अन्तरघुलन छ चलचित्रमा। यो चलचित्रमा एकातिर लिम्बूको मौलिक संस्कृतिप्रति काफ्लेका पिताले गाडधन पाइने भनी चिहान खोतलेपछि ब्राह्मण र लिम्बूबिच द्वन्द्वको बीजारोपण हुन्छ भने काफ्लेको भाइले लिम्बुनी भगाएपछि लिम्बू समुदायले काफ्लेलाई बनाउन दिएको घरको निर्माण कार्य पनि बिचैमा रोकी दोष जति सबै काफ्लेमाथि थोपरेपछि द्वन्द्वले थप मौलाउने मौका पाउँछ। युग पाठकले आफ्नो माङ्गेना नामक पुस्तकमा लेखेझैँ ‘मान्छेको शिर झुक्नु हुँदैन।

एउटा मात्र मान्छेको शिर झुक्यो भने समाजमा असहज अवस्था सिर्जना हुन्छ, समाज अस्वस्थ हुन पुग्छ। माङ्गेनाको सबैभन्दा सुन्दर मानवीय पक्ष के हो भने यसले शिर उठेको समाजको परिकल्पना गर्छ। त्यस्तो समाज नै मानवीय र स्वस्थ समाज हुन सक्छ।’ वास्तवमा लिम्बू सभ्यता र संस्कृतिसँग जोडिएको जीवन्त दर्शन हो माङ्गेना। परिस्थितिले मान्छेको आत्मसम्मानमा चोट पार्छ र शिर झुकाउँछ। यस्तो परिस्थितिमा झुकेको शिरलाई माङ्गेना गरी शिर उठाउने प्रचलन छ लिम्बू समुदायमा।

माङ्गेनाको दार्शनिक अर्थ मानिसका रहर, भावना, विश्वास र चाहनालाई उच्च बनाइराख्नु हो। सोही विषयलाई लिएर चलचित्रमा द्वन्द्वको सिर्जना भई त्यसले उत्कर्ष रूप लिएको देखिन्छ।

यो चलचित्र पाँचथरको लोब्रेकुटी, सिलौटी, पौवाभन्ज्याङ, नवमीडाँडा र नेपाल भारतको सीमाभूमि चारराते आदि लिम्बूको पुस्तौली थातथलोका रूपमा रहेका गाउँघरको सामान्य जनजीवन, सोसँग जोडिएका अनेकन् आयाम र परिवेशमा बढी केन्द्रित छ।

लिम्बू थातथलो वरिपरि कथानक परिवेश घुमिरहँदा चलचित्रले जीवन्तता पाएको छ। चलचित्र हेरिरहँदा दर्शकलाई लाग्छ कि पौवासारताप, नवमीडाँडा अनि नेपाल–भारत सीमा क्षेत्रमा पर्ने तीन हजार चार सय ५० मिटरमा अवस्थित पर्यटकीय स्थल चाररातेको कहींकतै लिम्बूगाउँ अनि मनमोहक प्राकृतिक भूपरिदृश्य र परिवेशमा हराई रमेका छौं।

चारराते यस्तो पर्यटकीय स्थल हो, जहाँबाट सूर्योदय र सूर्यास्तसँगै कञ्चनजङ्घा (८५८६ मिटर) र कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। कञ्चनजङ्घा काङ, चेन र जोङ्गा गरी तीनवटा तिब्बती शब्दको संयोजनबाट बनेको छ, जसमा काङ (हिउँ), चेन (महान्) र जङ्गा (खजाना) भन्ने अर्थमा यसलाई हिउँको महान् खजाना, निधि भन्छन्।

पाँचवटा मुख्य शिखर निहित हुनाले यो हिमाललाई धार्मिक ग्रन्थ, सुन, चाँदी, रत्न र अन्नले भरिपूर्ण हिउँका पाँच ठुला खजाना (फाइव टेजर अफ स्नो) को प्रतीक पनि मानिन्छ। लिम्बूहरू यसलाई याङ्मालुङको संज्ञा दिएका छन्, जुन लिम्बूहरूको अत्यन्तै पवित्र पर्वत मानिन्छ। उनीहरू यो हिमाललाई देव र पूर्वजको वासस्थान ठान्छन्। यससँग विशेष धार्मिक र सांस्कृतिक परम्परा जोडिन्छन्।

त्यस्तै महत्त्वको अर्को हिमचुलीको नाम हो– कुम्भकर्ण। लिम्बू भाषाको फक्ताङलुङलाई पूर्वजहरूको आत्मा बस्ने ठाउँ मानिन्छ। लिम्बूसंस्कृति र मुन्धुमअनुसार यो पवित्र हिमाल हो। हिमालहरूको चट्टानी पर्खालसमेत चिनिने यो हिमचुली विश्वमै आरोहण गर्न ज्यादै कठिन हिमाल पनि हो। यो हिमाललाई सदा पवित्र राख्नुपर्ने मान्यता छ।

पाँचथर लिम्बूको अधिक बाहुल्ययुक्त क्षेत्र हो। यो दश लिम्बुवानअन्तर्गत पर्छ। यद्यपि त्यहाँ अन्य समुदाय पनि अटेकै छन्। आफू लिम्बू समुदायको मौलिक पहिचान र संस्कृतिसँग घुलमिल भएकाले तिनको मौलिक सांस्कृतिक सौन्दर्यलाई सोचेर नै कथामा उनेको उनी बताउँछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी