एजेन्सी । उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । मुहिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।
सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले एक्समा जोस मुहिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद।’
पूर्व राष्ट्रपति मुहिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।पूर्वगुरिल्लासमेत रहेका मुहिका आफ्नो साधारण जीवनशैलीका कारणले ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’का रूपमा समेत चिनिन्थे । उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति बनेका थिए ।
५ वर्षे कार्यकालमा मुहिकाले राष्ट्रपति भवनमा नबसेर आफ्नै घरमा बसेर कार्यभार सम्हालेका थिए । उनी दुई कोठावाला घरमा बसे । उनी आफ्नो पारिश्रमिकको ९० प्रतिशत हिस्सा दान दिन्थे । पत्नीसँग मिलेर उनले फूलखेतीसमेत गरे । राष्ट्रपति हुँदासमेत कुवाबाट पानी भरेको र लुगा धोएका तस्बिरहरू सार्वजनिक भएका थिए । सादगीपूर्ण जीवन पक्षपाती र उपभोक्तावादको कट्टर आलोचक थिए मुहिका । उनकै पालमा मनोरञ्जनात्मक उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने मुलुक बनेको थियो उरुग्वे ।