माथि तस्वीरमा हेर्नुहोस् त सबैलाई सुरक्षा गार्डले कपाल मुण्डन गरिदिएका छन् । उनीहरु सबैलाई एकै खालको सेतो लुगा लगाईएको छ र निहुराएर हिँडाईदै गरेको देखिन्छ । रोयटर्सले प्रकाशित गरेको यो तस्वीर सयौँ भियतनामी नागरिकहरुको हो , जसलाई अमेरीकाको सर्वोच्च अदालतले निष्कासन नगर्न भन्ने आदेश दिएको थियो तर उनीहरुलाई सुरक्षा गार्डहरुले निष्कासनको तयारी गर्दै गर्दाको हो ।
यति मात्र हैन, हातमा हतकडी र खुट्टामा नेलले बाँधेर विभिन्न देशका मान्छेलाई अमेरीकाले यसरी नै खेदिरहेको छ । यसरी निष्कासन गरिनेमा संसारका करीब एक करोड बढी नागरिकहरु त्रासको जीवन बाँचीरहेका छन् सपनाको देश अमेरीकामा ।
ठूला ठूला सपना बुनेर त्याहाँ पुगेका मानिसको यो हाल देख्दा मन अलिकति चसक्क हुनु स्वभाविकै हो ।
विश्वको सबै भन्दा धनी र शक्तिशाली देश अमेरीका जहाँ कानुनी वा गैरकानुनी दुबै बाटो प्रयोग गरेर पुग्ने र जसरी पनि त्याहाँ बस्ने सपना संसारका विकासोन्मुख र विकासशील देशका नागरिकको रहँदै आएको छ ।
नेपालकै मात्र कुरा गर्ने हो भने पनि प्रत्यक बर्ष डिभी भरेर, विद्यार्थी भिषामा मात्र नभएर ठूलो धनराशी खर्च गरेर पानामाको जंगल र मेक्सिकोको सीमाना हुँदै दुखः गरेर त्याहाँ पुग्ने गरेका छन् ।
अझ कति त विभिन्न कार्यक्रमका लागि भन्दै त्याहाँ पुगेपछि पासपोर्ट नै फ्याकेर भागेर लुकिछिपि बस्ने पनि गरेका छन् ।
तर अब यसरी अमेरीका जाने सोच बनाएकाहरु सचेत हुनु पर्ने समय आएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले धमाधम गैरकानुनी आप्रवासीहरुलाई समातेर अपमानजनक तरीकाले डिपोर्ट गरीरहेको छ ।
यसरी डिपोर्ट हुनेमा दर्जनौँ देशसँगै नेपालीहरु पनि परेका छन् । केही दिन अघि अमेरीकी विमानमा एक दर्जन नेपालीलाई हातमा हतकडी र खुट्टामा नेलले बाँधेर काठमाण्डौ ओरालिएको थियो ।
अहिले अदालतको आदेशका बाबजुद पनि ट्रम्पले आप्रवासीहरुलाई धमाधम कठोरताका साथ निष्कासन गरीरहेको छ ।
ट्रम्पले आप्रवासीहरुलाई अपराधी, ठग, अमेरीकी रगत बिगारेको जस्ता अपमानजनक टिप्पणी निर्वाचन अघि नै गर्दै आएका थिए ।
लुकिछिपि अमेरीका पुगेर टेम्पोररी कार्ड बनाएका हजारौँ नेपाली त्रासमा जिउन बाध्य छन् । उनीहरु कति बेला डिपोर्टमा परिने हो भन्ने त्रासले लुकिछिपि काम गर्दै आएका छन् ।
उता बिद्यार्थी भिषामा गएकाहरु समेत समस्यामा पर्न थालेका छन् । बिद्यार्थी भिषामा ठूलो रकम खर्च गरेर गएकाहरु त्याहाँ पर्याप्त काम गर्न नपाएपछि कलेज फिस र होस्टेल फिस तिर्ने देखि खान कसरी पैसा जुटाउने हो समस्यामा परीरहेको त्याहाँ रहेका नेपालीहरुले बताउदै आएका छन् ।
यही त्रासका कारण अहिले नेपालबाट आफ्ना छोराछोरी अमेरीका पठाउन आवेदन दिएकाहरुले फिर्ता लिने क्रम बढेको कन्सलटेन्सी सञ्चालकहरु बताउछन् ।
अमेरीकाको न्यूयोर्क, टेक्सास, ओहायो सहित विभिन्न राज्यमा गत वर्षको आंकडा अनुसार २ लाख १९ हजार बढी नेपाली रहेका छन् । यो एक दशक बढीको अवधिमा झण्डै पाँच गुणा बढी नेपाली त्याहाँ पुगेको पाईएको छ ।
यसले जुनसुकै उपायद्धारा भए पनि अमेरीका जाने र भविष्य सेटल गर्ने सोच नेपालीहरुमा देखिए पनि अब त्यो सपनामा तुसारापत लाग्ने खतरा छ ।
नेपालबाट विभिन्न जिल्लाका गाँउ नै रित्तो बनाएर समेत गैर कानुनी रुपमा त्याहाँ पुगेका छन् ।
अहिले १३ सय बढी गैर कानुनी रुपमा बसेका नेपाली तत्काल डिपोर्टको सूचीमा छन् भने ८ हजार बढी टेम्पोररी रेसिडेन्स कार्ड लिएकाहरु डिपोर्ट हुने खतरामा छन् त्यसपछि ठूलो संख्यामा ग्रिनकार्ड लिएका नेपालीहरु समेत जोखिममा पर्ने आंकलन गर्न थालिएको छ ।
बेलैमा सचेत बनौँ , कानुनी प्रकृया पूरा गरेर मात्र अमेरीका जाऔँ । अन्यथा राम्रो सपना पूरा गर्ने खोजीमा दुखान्त बिपनाको सामना गर्न बाध्य हुने अवस्था आउन सक्छ ।
अहिले भेनेजुएला, क्युवा, प्यालेष्टाईन लगायतका देशका मानिसलाई अमेरीकाले सर्वोच्च अदालतको आदेश बिपरीत पनि जबरजस्त डिपोर्ट गरीरहेको छ ।