कार्तिक ३० काठमाण्डौँ । आज नेपालका लागि उर्जा क्षेत्रमा ऐतिहासिक दिन रहेको छ । आज पहिलो पल्ट नेपालले बंगलादेशलाई बिजुली निर्यात शुरु गर्दैछ । भारतको समेत स्वीकृति लिनु पर्ने भएकाले ढिला भए पनि आजबाट ४० मेगावाट बिजुली निर्यातको ढोका खुलेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२ः ४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेश विद्युत निर्यात सुरु गर्ने जानकारी दिए।
गत असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो।
यसअघि भारतले सम्झौताबमोजिम स्वीकृति नदिँदा बिजुली बंगलादेश निर्यात सुरु गर्न सकिएको थिएन। अहिले भारतले स्वीकृति दिइसकेकाले नेपालले बंगलादेश बिजुली पठाउने भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षका लागि आज ९कात्तिक ३० गते० दिन मात्र बिजुली बंगलादेश पठाउन लागिएको हो। शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ।
प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न लागिएको हो।
आज एकदिन बिजुली बेचेपछि अब एकैचोटि अर्को वर्ष जुन १५ मा बंगलादेश विद्युत् निर्यात गरिनेछ। त्यसपछि भने बिजुली निर्यात नियमित हुने घिसिङले जानकारी दिएका छन्।
बंगलादेशलाई बिजुली बेच्दा देशलाई प्रतिमहिना झन्डै ३३ करोड आम्दानी हुने विद्युत् प्राधिकरणले जनाएको छ।
हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बेच्ने सम्झौता भएको छ ।
६ वर्षको गृहकार्यपछि नेपाल र बंगलादेशबीच विद्युत् बिक्री सम्झौता ९पीएसए० कार्यान्वयन हुने भएको हो।