मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

  • मङ्लबार, कार्तिक २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

दमौली (तनहुँ), २७ कात्तिकः तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ ।

थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ गन्तव्यस्थल बनाउन खोजेका हाँै ।”

थापाका अनुसार अहिले दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । उहाँले भन्नुभयो, “केही समय यसको काममा ढिलाइ भएको थियो, गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।”

पदमार्गको दूरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम सकिएको थापाले जानकारी दिनुभयो । यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत परिमाण गरिएको छ ।

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन सकिए पर्यटन व्यवसाय फस्टाउनुका साथै स्थानीयको आयस्तर वृद्धि हुँदै जाने बताउनुभयो ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

सदरमुकाम दमौलीबाट १८ किमी डुम्रे हुँदै आठ किमी उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी