‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गर्नुभएको छ ।

लामो समयदेखि शासन गर्नुभएकी निरङ्कुश प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि माइक्रोफाइनान्स (लघुवित्त) का अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

“शान्त रहनुहोस र देश निर्माणका लागि तयार हुनुहोस्”, युनुसले फ्रान्सबाट स्वदेश फर्कनु एक दिनअघि बुधबार एक विज्ञप्तिमा भन्नुभयो, “यदि हामी हिंसाको बाटोमा गयौँ भने सबै नष्ट हुनेछ ।” उहाँले धेरै साताको हिंसापछि शान्त हुन आग्रह गर्नुभयो । हिंसामा कम्तीमा चार सय ५५ जनाको ज्यान गएको थियो ।

बङ्गलादेशमा लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्ने श्रेय दिइएका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न बोलाएपछि उहाँलाई कामचलाउ सरकारको नेतृत्व गर्न नियुक्त गरिएको हो ।

उक्त निर्णय राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेताहरूसँगको बैठकमा लिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

बैठकमा सहभागी स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूमध्येका एक नाहिद इस्लामका अनुसार युनुसले मुख्य सल्लाहकारको पद प्राप्त गर्नुहुनेछ । इस्लामले बैठकलाई ‘फलदायी’ भन्दै पत्रकारहरूसँग शाहबुद्दिनले ‘जतिसक्दो चाँडो’ अन्तरिम सरकार गठन गरिने कुरामा सहमति जनाउनुभएको बताउनुभयो ।

युनुसका वकिल खाजा तनविर अहमदले बङ्गलादेशको एक अदालतले बुधबार पुनरावेदनमा युनुसलाई श्रम सजायबाट सफाइ दिएको जानकारी दिनुभयो ।

श्रम अभियोगमा छ महिनाको जेल सजाय सुनाइएपछि युनुसले यसै वर्षको प्रारम्भमा विदेश भ्रमण गर्नुभएको थियो तर पुनरावेदन विचाराधीन भएकाले तुरुन्तै जमानतमा रिहा गरिएको थियो ।

उक्त मुद्दालाई एमनेस्टी इन्टरनेसललगायत निगरानीकर्ताहरूले राजनीतिक रूपमा प्रेरितका रूपमा आलोचना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी