ग्लान संस्कृति जगेर्ना गर्न नाम्सापुरानमा सङ्ग्रहालय स्थापना गर्ने, मन्त्री तामाङद्वारा ङारदिमको अवलोकन

ग्लान संस्कृति जगेर्ना गर्न नाम्सापुरानमा सङ्ग्रहालय स्थापना गर्ने, मन्त्री तामाङद्वारा ङारदिमको अवलोकन

  • शनिबार, जेष्ठ २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

नुवाकोट, २६ जेठ । ग्लान वंशको थातथलो नुवाकोटको बेतिनिस्थित नाम्सापुरानमा ग्लान सांस्कृतिक सङ्ग्रहालय बन्ने भएको छ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ नाम्सा पुरान स्थित तामाङ जाती भित्रको ग्लान थरका तामाङहरुको उद्गम थलो ङार दीम (आदिम थलो)मा सांस्कृति सङ्ग्रहालय निर्माण गरिने भएको हो ।

हराउँदै गएका ग्लान समुदायको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सङ्ग्रहालयको लागि सरकारले जेठ १५गते घोषणा गरेको आर्थिक वर्ष २०८०/ ०८१ को वजेटमा रकम समेत बिनियोजन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्धन केन्द्रको प्रस्ताव अनुसार नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ९० लाख रकम आर्थिक वर्ष २०८१/ ८२को बजेटमा छुट्याइएको जानकारी दिनुभयो ।

ग्लान वंशको थातथलोको अवलोकन पश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले सरकारले सङ्ग्रहालय निर्माणका लागि आगामि आर्थिक बर्षको वजेटमा नै रकम छुट्याएकोले अब छिट्टै सङ्ग्रहालय भवन निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढ्ने बताउनु भयो ।पहिलो चरणमा सङ्ग्रहालयको भवन निर्माण गर्ने र वजेट अपुग भएमा थप गरेर भएपनि आवश्यक अन्य संरचनाहरु क्रमश निर्माण गर्ने मन्त्री तामाङले बताउनु भयो ।  मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रूपमा ग्लान सांस्कृतिक सङ्ग्रहालय बनाउने उद्घोष गर्दै उहाँले यसमा ग्लान वंश मात्रै नभएर उनीहरुसँग जोडिएका अन्य नातासहित सम्पुर्ण समुदायको साथ सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समुदायको लोप हुँदै गएका कला, संस्कृति, रहनसहन, भाषा, वेशभूषा र गहना संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने धाराणा राख्नु भयो । कला, सस्कृती र अर्थतन्त्र भनेको एकअर्कासँग अनुन्याश्रित रुपमा जोडिने तर्क गर्दै मन्त्री तामाङले कलाको महत्व सबैले गहिरिएर बुझ्न जरुरी रहेकोमा जोड दिनुभयो ।

नेपालमा मात्रै नभएर विश्वका जुनसुकै कुनामा छरिएर रहेका ग्लान वंशको मुख्य थातथलो नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनिस्थित नाम्सापुरानमा संग्रहालय निर्माण हुनु ग्लान वंशको लागि मात्रै नभएर सम्पूर्ण तामाङ समुदायको लागि नै गर्वको विषय भएको उहाँको भनाई थियो । संग्रहालयमा ग्लान वंशका पूर्खाले प्रयोग गरेकाभाँडावर्तनसहित लत्ताकपडा, बाजागाजा र अन्य कला संस्कृति झल्काउने जीविकासँग सम्बन्धित सम्पुर्ण सामग्रिहरु राखिने भएकाले आफ्नो वशंकोको बारेमा जान्न चाहने ग्लान समुदायका साथै, आन्तरिक तथा बाह्य पर्यटकको लागि पनि अध्ययनको केन्द्र बन्ने मन्त्री तामाङले बताउनुभयो । साथै ग्लान समुदायको कला, संस्कृति, रहन, सहन र भेषभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत सङ्ग्रहालय स्थापना गर्न आवश्यक भएको उहाँको भनाई थियो ।

संस्कृति पर्यटन प्रवर्धनका लागि समेत ग्लान सङ्ग्रहालय सहयोगी हुने भएकाले यसको थप विकास र प्रवर्धनमा राज्यले लगानी गर्नुपर्ने मन्त्री तामाङले बताउनुभयो । ग्लान समुदायको मौलिकता जोगाइराखे सिंगो नुवाकोटको मात्रै नभएर नेपालको पर्यटन विकासमा समेत टेवा पुग्ने उहाँको भनाई थियो ।

यसै गरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ,‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि यस ठाउँको र यहाँका पुरातात्विक सम्पदा तथा वस्तुहरुको संरक्षण गर्नुपर्छ । ’

नेपाल तामाङ घेदुङ बाग्मतीका अध्यक्ष लिला कुमार ग्लानले सम्पूर्ण ग्लानहरूको साझा ऐतिहासिक ङारदिमको सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो ।

थातथलो अवलोकनको क्रममा बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि मन्त्रीले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै कसैलेपनि आफ्नो थातथलोलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

यस्तै गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरण समेत हुने बताउनुभयो ।

सोहि क्रममा पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिरहेका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङले ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामूहिक राष्ट्रिय भेला गर्ने भन्दै उहाँले त्यसो गरेका छरिएर रहेका ग्लानहरुलाई उद्गमथलोसम्म ल्याइपुर्‍याइने वातावरण सिर्जना हुने धाराणा राख्नुभयो ।

यसै गरी कार्यक्रममा बोल्दै आनन्दी ग्लानले स्नातकोत्तर अध्ययनमा लपताबकै विषयमा अध्ययन गरेको बताउदैँ ग्लानको थातथलो नाम्सापुरान आउने अवसर मिलेकोमा खुसी ब्यक्त गर्नुभयो ।

ग्लान समाज नेपालले ग्लान वंशको थातथलो अवलोकन कार्यक्रमको आयोजना गरेको हो ।उक्त अवलोकन कार्यक्रममा पर्यटन मन्त्री तामाङ सहित ग्लानहरु पुगेका थिए । उक्त टोलीले ग्लान वंशका पुर्खालेप्रयोग गरेका सामग्रि देखि, चुलो को पनि अवलोकन गरेका थिए ।

तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ वर्षीय टोकबहादुर ग्लानले जानकारी दिनुभयो ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन ग्लान समाज नेपालका सदस्य सचिव ‛युनिक’ रक्षे ग्लानले गर्नुभएको थियो । मन्त्री तामाङको पहलमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्धन केन्द्र’ शीर्षकमा ९० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै स्थानीयले उहाँलाई खादा र मालाले सम्मान समेत गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ