काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले विभिन्न समयमा सहकारीमा भएका छानबिन र अध्ययन प्रतिवेदन उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन झिकाउने निर्णय गरेको हो । त्यस्ता प्रतिवेदनहरू असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि भएको सभापति सूर्य थापाले जानकारी दिए ।
सहकारी सन्दर्भमा यो नवौं छानबिन समिति हो । बाँकी ८ वटा छानबिन समिति, जाँचबुझ आयोग, यसअघि बनेका छन । नेपालमा सहकारीलाई संस्थागत गर्ने सन्दर्भमा जति पनि छानबिन समिति, अध्ययन, जाँचबुझ समितिहरु बनेका छन् । ती सबैका प्रतिवेदनहरु सचिवालयमार्फत पत्रचार गरेर प्राप्त गरिसक्ने भनिएको छ ।
बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने भएको छ ।
बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ ।