काठमाडौँ, १८ जेठ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले पुरातात्विक महत्वका सम्पदाहरुलाई जस्ताको तस्तै संरक्षण गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभएको छ । तर बजेट अभावका कारण पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षणमासमस्या भएको धारणा राख्नुभयो ।
सिंहदरबारमा शुक्रबार आयोजित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री तामाङले पुरातात्विक सम्पदाहरुको संरक्षण गरी पर्यटकहरुको उल्लेख्य सहभागिता बढाउनुपर्ने नीति, योजना र कार्यक्रम सरकारसँग भए पनि बजेट अभावमा उक्त काम सहज ढंगले अघि बढ्न नसकेको बताउनुभएकोहो ।
उहाँले भन्नुभयो, ‘ऐतिहासिक पुरातात्विक महत्वको सम्पदाहरु, त्यस्ता खालको स्थलहरुको हामीले संरक्षण गर्नुपर्दछ । पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोण जे छ । त्यसको आधारमा, त्यसको संरक्षण गर्दै त्यसको वरिपरी पर्यटकहरु भित्र्याउनका निमित्त, पर्यटकहरुलाई आर्कषण दिलाउन, रमाउने खालको वातावरण बनाउनका निमित्त राज्यले पहल गर्नुपर्छ । त्यसलाई नयाँ बनाएर होइन कि पुरानोलाई जस्ताको तस्तै संरक्षण गरेर त्यस वरिपरी हामीले गर्नुपर्ने धेरै काम हुँदोरहेछ । त्यसका लागि बजेट धेरै चाहिन्छ । बजेट हामीसँग अभाव छ ।’
उहाँले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक वातावरण बनाउन राज्यले नै पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।
मन्त्री तामाङले पुरातत्व विभागको नीतिगत दृष्टिकोणको आधारमा त्यस्ता सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
बैठकमा पर्यटन मन्त्रालयले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी विकास गुरुयोजनाका समस्या र भावि कार्यदिशाबारे संसदीय समितिलाई जानकारी गराएको छ ।

मन्त्रालयलका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनालाई सहजरुपमा सञ्चालन गर्न प्राविधिक, कानुनी, नीतिगत र व्यवहारिक पक्षको अध्ययन भइरहेको जानकारी दिनुभयो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले भन्नुभयो, “लुम्बिनी गुरुयोजनालगायत आयोजना राज्यको क्षमता र उपलब्ध बजेटका आधारमा निरन्तर अघि बढिरहेका छन्, विभिन्न विकास समिति र राष्ट्रिय महत्वका सम्पदाका रुपमा रहेका गढी र किल्लाको संरक्षण तथा संवद्र्धनमा पनि राज्यले काम गरिरहेको छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र गौतमबुद्ध विमानस्थल निर्माण भूकम्प, बन्द हडताल र कोरोनासम्मका घटना व्यहोर्दै सम्पन्न गरिएको घटना सुनाउँदै यी परियोजना अध्ययनका हिसाबले धेरैका लागि विश्वविद्यालय जस्तै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गौतमबुद्ध विमानस्थल बने पनि भैरहवा आउने यात्रु कम रहेकाले निजी क्षेत्रका विमानले उडान भर्न सक्ने अवस्था अहिले नै देखिन्न । राज्यले चाहने हो भने वैदेशिक रोजगारमा जाने आउनेका लागि त्यहाँबाट उडान भर्न सकिन्छ ।”
आगामी कात्तिकदेखि केही महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्नुपर्ने भएकाले त्यस बेला सो विमानस्थलको अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्न सकिनेबारे महानिर्देशक अधिकारीले समितिलाई जानकारी गराउनुभयो । प्राधिकरणलाई मुलुकका ५५ विमानस्थल सञ्चालनको जिम्मेवारी रहेको जानकारी गराउँदै उहाँले उपलब्ध जहाज प्रयोग गरी दुर्गम जिल्लाका पुराना विमानस्थल नुन, खोप, चामल, पुस्तक र चुनावका बेला मतपत्र ढुवानी गर्न प्रयोग हुँदै आएको उल्लेख गर्नुभयो ।
पहाडी जिल्लामा रहेका धेरै विमानस्थल सडक यातायातको पहुँच विस्तारसँगै हवाई उडानको चाप घटेको उल्लेख गर्दै उहाँले कतिपय विमानस्थल राजनीतिक होडबाजीमा बनाइएकाले चाहेर पनि सञ्चालन गर्न चुनौती देखिएको धारणा राख्नुभयो ।