काठमाडौं, ५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले फोहरको स्रोतमाथि अधिकार राख्ने व्याक्ति र निकायले आफ्नो दायीत्व पूर्ण रुपमा पुरा गर्न नसक्दा सिंगो काठमाडौं उपत्यका सहित वाग्मती नदीलाई अझै फोहरमुक्त बनाउन नसकिएको बताउनु भएको छ ।
वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री तामाङले वाग्मती सफाई अभियानको सकारात्मक प्रभाव परेको भएपनि अपेक्षा राखिएजति उपलब्धि हासिल हुन नसक्नुमा फोहरको स्रोतमाथि अधिकार प्राप्त व्याक्ति, संस्था, राज्यका निकाय लगायत सरोकारवालाले पुरा गर्नुपर्ने दायीत्व र काम पूर्ण रुपमा पुरा गर्न नसक्दा शहर र वाग्मती किनारालाई फोहर मुक्त गर्न नसकिएको बताउनु भएको हो ।
वाग्मती सफाई अभियानको प्रभावले काठमाडौं र यहाँभित्रका नदी किनार तथा अन्यत्र शहरहरुमा पनि सफाई अभियान सन्चालनमा आउनु सुखद पक्ष रहेको मन्त्री तामाङले बताउनु भयो । निश्वार्थ रुपमा सन्चालन गरिएको सफाई अभियानकै कारण केहि हदसम्म भएपनि वाग्मती नदी सहितका सहायक नदी र शहर सफा भएको उहाँको भनाई थियो । ” सफाई अभियानको प्रभाव नपरेको भए अकल्पनिय किसिमका दुर्गन्ध र विसंगतीहरु र अस्तव्यस्त खालको अवस्था श्रृजना हुनसक्ने थिए”, मन्त्री तामाङले भन्नु भयो, “तर अपेक्षा गरेअनुरुप सफलता पाउन नसकिएको देखियो । फोहर व्यावस्थापनमा सबैले मिलेर काम गर्नुपर्छ ।”

निश्वार्थ रुपमा वागमती सफाई महाअभियान सन्चालन नभएको भए नदी किनार आसपास फोहरका डंगुर थुप्रने र त्यसबाट उपत्यकाको सिंगो सहर अस्तव्यस्त बन्नुका साथै नागरिक समाज र अर्थतन्त्रमा पुग्ने प्रभावबारे कल्पना नै गर्न नसकिने मन्त्री तामाङको भनाई थियो । उहाँले शहर र नदी किनार सफा राख्न नीजिस्तरका संघसंस्था, सरोकारवाला निकाय र जनसमुदायसँगै मिलेर काम गर्न मन्त्रालय तयार रहेको र पशुपति क्षेत्र विकास कोषको अध्यक्षका हैसियतले निर्वाह गर्नुपर्ने भूमिकामा कमि हुन नदिने पनि प्रतिबवद्धता जनाउनु भयो ।
आममानिसमा फोहर गर्ने संस्कारको अझै अन्त्य हुन नसकेको भन्दै मन्त्री तामाङले भन्नुभयो, “जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । वाग्मती सफाइमा राज्यका सम्बन्धित निकायले व्यवहारिक योजना बनाउन आवश्यक छ ।” उहाँले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरको उचित व्यवस्थापनका लागि कुहिने र नकुहिने छुट्याउने, जथाभावीरुपमा फोहर नफाल्नेलगायत विषयमा जनचेतना जनाउनु आवश्यक छ । मेरो सक्रिय जीवनमा नदी र प्रकृतिबारे आवाज उठाइराख्नेछु ।”

त्यस्तै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले वाग्मतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “वाग्मतीलाई ढल मुक्त बनाउने चुनौती छ । वाग्मतीको व्यवस्थापनका लागि ‘कोरिडोर’ निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “ढल मिसिने खोलामा पानी कसरी बढाउने भन्ने चुनौती छ । ढल प्रशोधन गर्न प्रविधि परीक्षण भइरहेको छ ।” उहाँले अबको एक वर्षभित्र वाग्मती नदीमा सफा पानी बग्ने गरि सरकारले काम गरिरहेको पनि बताउनु भयो ।

वाग्मती सफाइ महाअभियानको अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सफाई अभियानकै कारण नदी किनारमा मानिस मुख नथुनि हिड्न सक्ने अवस्था श्रृजना भएको बताउनु भयो । तर अझै पनि नदीलाई पूर्ण रुपमा सफा बनाउन नसक्नुमा ढल व्यावस्थापन चूनौति रहेको धारणा राख्नुभयो ।
सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताउनुभयो । उहाँका अनुसार हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहर उठाइसकिएको छ । उहाँले सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको जानकारी दिनुभयो ।वाग्मती अभियान डलर खाएर चलाएको भन्ने आरोप लाग्ने गरेको दुखेसो पोख्दै अभियान्ता पौडेलले भन्नुभयो, “यो आरोपमा कुनै सत्यता छैन । हामीले निश्वार्थ रुपमा कहि कतैबाट आर्थिक सहयोग नलिएर नै चलाईरहेको अभियान हो । यो सामाजिक काम हो ।”

उहाँले वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएको पनि जानकारी दिनुभयो । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् ।
वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको जानकारी दिदै पूर्वमुख्यसचिव पौड्यालले भन्नुभयो, “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ । बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ । मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।”

वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५औँ साता हो ।
तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सय सफाइ अभियान्ताको सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले नदी किनारमा बिरुवा पनि रोप्नुभएको थियो । त्यस अघि नदी किनारको फोहर सफाई कार्यमा पनि मन्त्री तामाङले सहभागिता जनाउनु भएको थियो ।
तस्बिरहरु













