काठमाडौं, २४ वैशाख । रामेछापमा एक घर आगलागीबाट नष्ट भएको छ । आगलागीबाट करिब १५ रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ ।
ढिलो गरी प्राप्त समाचार अनुसार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–७ थापागाउँस्थित छेवाङ नाम्गेल तामाङको घर आइतबार राति साढे ७ बजेर आगलागीमा परेको थियो । घरभित्र चुल्हो रहेको सो घरमा साँझ खाना खाएर सुतेका बेला चुल्होबाट आगो सल्किएर घरमा आगो लागेको पाइएको सो वडाका वडाध्यक्ष प्रविणकुमार मोक्तानले जानकारी दिए ।
आगलागीबाट घर पूर्णपरुपमा ध्वस्त भएको छ भने लत्ता, कपडा भाँडाकुँडा, अन्नपात र नगद समेत जलेको उनले बताए । आगोबाट दुई वटा बाख्रा समेत जलेका छन् । साथै २० मुरी धान, मकै, कोदो लगायत अन्नपात जलेका छन् । नगद ३ लाख रुपैयाँ पनि जलेको छ । टिनको छाना भएको घर भएपनि सुख्खा समयमा आगलागी भएकाले छिमेकीहरुको सहयोगका बाबजुद जोगाउन नसकिएको स्थानीयले बताए । नजिकैको अन्य घरहरु भने छिमेकीहरुको प्रयासबाट जोगाउन सफल भएको अध्यक्ष मोक्तानले बताए ।
अस्थायी प्रहरी चौकी तेमालडाँडाबाट भएको प्रहरी टोलीले घटनाको विवरण संकलन गरेको र आगलागी पीडित परिवारको बासस्थानको व्यवस्थाबारे काम भइरहेको उनले बताए । यो घटनास्थल शैलुङ जंगलमा चलिरहेको डढेलोको उद्गम विन्दु डोरखानीदेखि करिब डेढ किमि पश्चिमतर्फको दूरीमा पर्दछ ।