‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

  • बुधबार, बैशाख १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडौँ, १९ वैशाख ।  डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ ।

गोदावरी नगरपालिका-४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहरीको मङ्गलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो ।

कार्यालयका अनुसार गोदावरी नगरपालिका-६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका(५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वनमा डढेलो लागेको थियो ।

यसैगरी वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका-५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका-३ लुभु पातले सामुदायिक वनमा डढेलो लागेको थियो ।

डिभिजनल वन कार्यालय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले वन क्षेत्रमा लागिरहेको डढेलो सुरक्षित रहेर नियन्त्रण गर्ने ज्ञानको अभाव हुँदा दुई जनाले ज्यान गुमाउनु परेको बताए ।

“डढेलो भिरालो ठाउँमा लाग्दा निभाउन असजिलो भयो,” उनले भने, “तलबाट आगो बल्दै माथि आउने भएकाले माथि बसेर नियन्त्रण गर्न खोज्दा ज्यान गएको हो, आगो नियन्त्रण गर्दा जहिले पनि आगोको लप्का आउने दिशाभन्दा विपरीत बस्नुपर्छ ।”

तर कहिलेकाहीँ हावा चल्दा आगो विपरीत दिशातिर आइदिने भएकाले नसोचेको घटना हुने डोल्पाका डिभिजनल वन अधिकृत मुनबहादुर राउतले बताए । गत चैत महिनामा डोल्पाको ठुलीभेरी नगरपालिकाको मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन जना नेपाली सेनाले ज्यान गुमाएका थिए ।

यसैगरी नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । “अधिकांश वन डढेलो मानिसले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्न जरुरी छ, ” उनेले भने, “वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्रथामिकता दिन जरुरी छ ।”

मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्वस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था छ ।

वन डडेलो व्यवस्थापन रणनीति २०६७ मा डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढिकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोको जोखिमबारे अग्रिम जानकारी लिने र पूर्व तयारी गर्ने लक्ष्य रहेको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी