विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

  • बुधबार, बैशाख १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।

आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । “पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुप-यो”, मोटरसाइकलमा तरकारी बेच्दै हिँड्नुभएका सेन्चुरीले भन्नुभयो, “अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।”

पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो । पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उहाँको भनाइ छ । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उहाँले बताउनुभयो ।

दैनिक घरको मिस्त्री काम गर्दै आउनुभएका व्यास- १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्छ । “पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन कामविहीन हुनु परेको थिएन”, दरैले भन्नुभयो, “एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।”

उहाँले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा रु नौ सय कमाउने गर्नुहुन्थ्यो । अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनुपरेको उहाँको भनाइ छ ।

व्यास- १ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताउनुभयो । “पहिले वर्षमा १२/१५ वटा घर सजिलै बनाइन्थ्यो । त्यसका लागि २०/२२ जना मजदुर नियमित खटाउथेँ”, तामाङले भन्नुभयो, “तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन ।”

दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनाँै पेन्टर खाडी मुलुक गइसकेको उहाँले बताउनुभयो । आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो ।

जिल्लाका एक सय ८० निर्माण व्यवसायीहरु निर्माण व्यवसायी सङ्घमा आबद्ध छन् । घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताउनुभयो ।

व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक बर्ष २०७६/७७ मा बार्षिक चार सय ५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक दुई सय ६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ