इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

  • सोमवार, बैशाख ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।

इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ ।

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भन्नुभयो, “इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।”

मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् ।

“हमासले अझै पनि गाजामा हाम्रा बन्धकलाई राखेको छ”, हगारीले करिब एक सय ३० बन्धकका बारेमा भन्नुभयो । बन्धक बनाइएकामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । हमासको आक्रमणपछि उनीहरूले ती बन्धकलाई आफ्नो कब्जामा लिएको इजराइलले बताएको छ ।

सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भन्नुभयो, “रफाहमा हाम्रा बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।” यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, “गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुई वटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ ।”

हमास सरकारको मिडिया कार्यालयले इजराइली विमानहरूले मध्य गाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ । घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजराइली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्यो । यद्यपि इजराइलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ ।

इरानी आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार आपत्कालीन बैठक बसेको छ । बैठकमा इजराइलले तेहरानविरुछ नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ । महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सङ्घारमा रहेको चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ