उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

  • शनिबार, फाल्गुन २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

ढोरपाटन (बागलुङ), २६ फागुन : बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो । उहाँहरुले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बन्नुभएको छ ।

उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उहाँहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्नुहुन्छ । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उहाँहरुको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध हुनुहुन्छ । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उहाँहरुले उद्योग सञ्चालन गर्नुभएको हो । प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले राससलाई बताउनुभयो ।

उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताउनुभयो । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउनुहुन्छ । उद्योगमा एक जनाले महिनाको ३५÷४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उहाँले गुनासो गर्नुभयो ।

“फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरु बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।”

समूहमा काम गर्दै आउनुभएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताउनुभयो । आफूहरु विस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उहाँको भनाइ छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उहाँले बताउनुभयो । सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताउनुभयो । समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उहाँले गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताउनुभयो । उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उहाँ बताउनुहुन्छ ।

“पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरुलाई हामीले प्रथामिकताका साथ सहयोग गर्दै आएका छौँ यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौँ, हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी