भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति

भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति

  • आइतवार, फाल्गुन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

चितवन, २० फागुन : भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे । जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट स्वतःस्फूर्त रुपमा नगरका सर्वसाधारण कार्यक्रममा ओइरिए यो कार्यक्रम जनताबाट अनमोदित भयो । यति मात्रै होइन देशका प्रमुख दलका शीर्ष नेताहरु उद्घाटन समारोहमा सहभागी भएर आर्थिक उन्नयनको विषयलाई राजनीतिक रुपमा पनि अनुमोदन गरे ।

सरकार र विपक्षमा रहेका प्रमुख दलका नेताहरु एउटै मञ्चमा उभिएर आकाशमा सँगै बेलुन उडाएर सार्वजनिक सरोकारका विषयमा हामीसँगसँगै छौँ भन्ने सन्देश प्रवाह गरेका छन् । एउटै मञ्चमा बसेर नेताहरुले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको अर्को महत्वपूर्ण पाटो बन्यो । सबै नेताहरुको सम्बोधनको मुख्य विषय पर्यटन क्षेत्रको विकास र यहाँका पर्यटकीय स्थलहरुको संरक्षण गरेर आर्थिक उपार्जनको बाटोमा लाग्न अभिप्रेरित गर्नु महत्वपूर्ण थियो । भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ केवल भरतपुरको मात्रै रहेन यो देशकै पर्यटक वर्ष जस्तो बन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत शीर्ष नेताहरुको उपस्थितिमा भएको महोत्सव उद्घाटन समारोह सभ्य एवं भव्य रह्योे । प्रदेश प्रमुखहरु, मुख्यमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्री, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विदेशी पालिकाका प्रमुखसमेतको उपस्थिति रहेको कार्यक्रमबाट चितवनबासी उत्साहित भए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत निजी क्षेत्रका उद्योग–व्यापार संस्थाका शीर्ष नेतृत्वले आर्थिक विकास र रोजगारी सृजनाका निम्ति कम्मर कसेर काम गर्न आफ्ना सहयोद्धाहरूलाई गरेका थिए ।

भरतपुरका विभिन्न भागबाट नारायणी किनारमा प्रस्तुत झाँकीले आफैमा विविधतामा एकताको सन्देश प्रवाह गरिरहेका थिए । आआफ्नै कला, संस्कृति झल्किने झाँकी टोलटोलबाट निस्केर नारायणी किनार पुगेका थिए । विविध झाँकीका दृश्यले लाग्थ्यो भरतपुरका प्रत्येक घरमा चाडपर्व मनाईरहेका छन् । भरतपुरका टोलटोल फूलका गमलाले सजिएका थिए ।

नेकपा एमालेका नेता विजय सुवेदी भरतपुरको यो कार्यक्रमको सहभागितालाई ऐतिहासिक भन्नुहुन्छ । महानगरप्रमुख पदका प्रत्यासि रहनु भएका सुवेदीले सबैले महानगरको समृद्धिका लागि हातेमालो गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दल विशेष नभनी यहाँको आर्थिक विकासका लागि सबै एक ठाउँमा उभिएको पाइयो ।” पक्ष–विपक्षी सबै शीर्ष नेता यही आएपछि भरतपुरबासीले यसलाई साझा कार्यक्रम बनाएको उहाँ बताउनुहुन्छ । महानगरपालिकाले स्थानीयदेखि केन्द्रसम्म समन्वय गरेर भ्रमण वर्षका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गरेको उहाँको ठम्म्याइ छ ।

नेपाली कांग्रेसका नेता प्रा.डा.सूर्यकान्त घिमिरे उद्घाटन सत्रको उपस्थितिले नयाँ सन्देश प्रवाह गरेको बताउनुहुन्छ । सबै दलका नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर महानगरको यो अभियानलाई साथ दिएको भन्दै उहाँले अबका दिनमा महानगरप्रति पनि थप जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुरका अधुरा काम जतिसक्दो छिटो सम्पन्न गरेर ‘भरतपुर राम्रो बनेको छ’ भन्ने सन्देश दिनुपर्छ ।”

आर्थिक मन्दीको समयमा सर्वसाधारणको उपस्थितिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको भन्दै उहाँले महानगरको उद्देश्य पूर्ति भएको बताउनुभयो । भ्रमण वर्षका सन्दर्भमा आयोजना गरिने आगामी कार्यक्रम थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले सुझाव दिनुभयो ।

नेपालका कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा वरिष्ठ चिकित्सक भोजराज अधिकारी पालिकास्तरको कार्यक्रम भएपनि राष्ट्रिय गौरवको उचाई राख्ने कार्यक्रम बनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “असल योजना नै ५० प्रतिशत सफल हो, यो कार्यक्रम ५० प्रतिशत सफल भइसकेको छ । अब बाँकी काम गरेर भ्रमण वर्षलाई सफल बनाउनुपर्छ ।”

महानगरपालिकाको समन्वयकारी भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै उहाँले सबै तह र तप्कालाई जोड्न सक्ने खुबी नेतृत्वमा हुनुले पनि कार्यक्रम सफल भएको बताउनुभयो ।

महानगरप्रमुख दाहालको प्रशंसा गर्दै उहाँले आउँदो दिनमा बन्ने नेतृत्व र देशका अन्य पालिकाका नेतृत्वहरुका लागि पनि उदाहरणीय काम भएको बताउनुभयो । यो कार्यक्रमले देश मात्रै होइन, विदेशसम्म पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । कार्यक्रममा युरोपेली मुलुक माल्टाका प्रतिनिधिको उपस्थितिले अन्तर्राष्ट्रिय जगत्मा पनि चितवनको पर्यटन विकासमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

कोरोना महामारी र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आयोजना गरिएको भ्रमण वर्षले सकारात्मक परिणाम दिनेमा आम भरतपुरवासी विश्वस्त छन् । भरतपुर भ्रमण वर्ष भनिए पनि यसको प्रत्यक्ष लाभ चितवन र छिमेकी जिल्लाका पर्यटकीय क्षेत्रमा पर्नेछ । राजनीतिक नेतृत्व राजनीतिक मतभेद भएपनि देश विकासका आर्थिक योजना र राष्ट्रिय महत्वका काममा सहकार्य गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न भरतपुर भ्रमण वर्षको उद्घाटनसत्र सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी