बिहिबार सिआईबीले प्रतिष्ठित व्यवशायी अरुण चौधरीलाई पक्राउ गर्यो । खासै चर्चामा नआएको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उनलाई सिआईबीले पक्राउ गरेको हो । त्यस क्रममा सो जग्गा चौधरीलाई हस्तान्तरण गर्र्न भूमिका खेलेका तात्कालीन बासबारी छालाजत्ता कारखानाका अध्यक्ष अजित नारायण सिंह थापा थिए । उनी अहिले त्यो प्रकरणमा ८२ बर्षको उमेरमा पक्राउ परेका छन् ।
सरकारी उद्योग धन्दा , कलकारखानालार्ई घाटामा लैजाने अनि निजीकरण गर्ने प्रवृति ४६ साल पछि ह्वात्तै बृद्धि भएको थियो । यसैको एक उदाहरण हो बाँसबारी छालाजुत्ता कारखाना पनि ।
बाँसबारीमा २०२१ मा छालाजुत्ता कारखाना खुल्यो । कारखानामा २०४४ मा चौधरी ग्रुपको इन्ट्री भएको देखिन्छ । चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छालाजुत्ता कारखाना सञ्चालन भएकै कम्पाउण्डमा अर्को कम्पनी स्थापना गरे । सो कम्पनी हो–‘च्याम्पियन फुटवेयर लिमिटेड ।’ च्याम्पियन फुटवेयरमा चौधरीहरुले २५ प्रतिशत लगानी गरे । अरु लगानी सरकारले नै गरेको हो । बाँसबारी छालाजुत्ता कारखाना संचालक समितिको निर्णयबाट सुरुमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा १० रोपनी जग्गा पास गराएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
अजित नारायण सिंह थापा त्यसबेला बाँसबारी छालाजुत्ता कारखानाको संचालक समितिका अध्यक्ष थिए । संचालक समितिको निर्णय र प्रतिवेदनको आधारमा जग्गा मालपोतबाट पास गरेको भेटिएको छ ।
२०४७ मा च्याम्पियन्स फुटवेयर बन्द भयो । त्यसअघि नै ०४४ मा च्याम्पियन्सको नाममा जग्गा गइसकेको थियो । ‘घाटा भयो’ भनेर चौधरीहरुले जुत्ता कम्पनी बन्द गरेका हुन् ।
२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना पनि बन्द गरियो । त्यसपछि चौधरी ग्रुपले संचालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गा सहित फुटवेयर कम्पनी ‘प्रालि’मा परिवर्तन गराए । २०५४ मा सो जग्गा प्रालिमा रुपान्तरण भएर २०७५ मा चाँदबाग रेसिडेन्सी प्रा।लिमा कन्भर्ट भएको छ ।
काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका छन् ।
सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।
चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिन गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद लिएको छ ।
चौधरी र थापालाई श्वास्थ्यको कारण देखाउदै चिरायु अस्पतालमा भर्ना गरिएको छ ।
निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले चौधरीको पक्राउको विरोध गरेको छ । यसले व्यवशायीहरुलाई निराश पारेको अध्यक्ष चन्द्र ढकालको दाबी छ ।