काठमाण्डौँ १० माघ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ व्यवस्था लागू गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो ।
यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ । यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ ।
यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण हुनुपर्नेछ ।
संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्थामा उल्लेख छ ।
यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ ।
भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदा आफन्त भेट्ने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्न विभागले अनुरोध गरेको छ । भिसाको अवधिभित्रै स्वदेश फर्कन समेत सरकारले अनुरोध गरेको छ ।
भिजिट भिसा सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेट्न जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र भएको विभागले जनाएको छ । त्यस्तै पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र गृह मन्त्रालयले जनाएको छ ।
भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य रहेको भन्दै यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने विभागको भनाइ छ ।
यस्तै भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेस गर्ने, झुट्टा विवरण तयार गरेको खण्डमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्ने विभागले जनाएको छ ।
भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने समेत सरकारले चेतावनी दिएको छ ।
बिचौलियाहरूले महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने गरेको भन्दै विभागले सचेत रहन आग्रह गरेको छ ।