काठमाडौं । चेक रिपब्लिकको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेमध्ये ५(६ जना गम्भीर रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।
त्यहाँका प्रहरी प्रमुख मार्टिन भोन्ड्रसेकले उक्त आक्रमण आतंकवादी नभएको बताएका छन्। आक्रमण गर्ने २४ वर्षीय पुरुष रहेको र उनी पनि मृत फेला परेको भोन्ड्रसेकले सञ्चारमाध्यमलाई बताए। पहिचान नभएका ती व्यक्ति पनि चार्ल्स विश्वविद्यालयमै दर्शनशास्त्रका विद्यार्थी रहेको बताइएको छ।
अन्धाधुन्ध गोली प्रहार हुन थालेपछि विश्वविद्यालयका विद्यार्थीहरूले कक्षाकोठा बन्द गरेका थिए। केही विद्यार्थीहरू भने विश्वविद्यालयका बाल्कोनीमा लुकेर बसेका थिए। चेक रिपब्लिकका राष्ट्रपति पेटर पावेलले घटना सुनेर स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले मृत्यु भएका परिवाजनमा समवेदना प्रकट गरेका छन्।
त्यस्तै प्रधानमन्त्री पेटर फियालाले आफ्नो नियमित भेटघाट बन्द गरेका छन्।