रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को निधन भएको जनाएको छ। यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको थियो ।
मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसका राजदूत मार्फत पुनःअनुरोध गरिएको पनि विज्ञप्तिमा जनाएको छ।
त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई पुनः आग्रह गरेको छ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन सरकारले अडान राखेको छ।
साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले स्मरण गराएको छ।
यसैगरी युद्धमा सामेल भएका चार नेपाली युवा युक्रेनी सेनाको कब्जामा परेका छन् । रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन्।