१३ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ३ हजार स्वयंसेवक परिचालन गरिएको माओवादी केन्द्रले जनाएको छ । स्वयंसेवक परिचालनको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले गरेका छन् ।
रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिंगो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रुपान्तरण गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिए ।
अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ । त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।
पश्चिम रुकुमको सिंगो माओवादी पार्टी बिहानैदेखि साँझ अबेरसम्म अस्थायी आवास निर्माणमा खटिएको र ३ हजार सदस्यीय स्वयंसेवक दल गठन गरी जिल्लास्तरीय कमाण्ड पूर्वमन्त्रीसमेत रहेका जनार्दन शर्माले गरेका छन् । शर्मा त्यस जिल्लाबाट निर्वाचित सांसद एवं पूर्व मन्त्री समेत हुन् । उनले बागमती प्रदेशका नेता कार्यकर्तासँग केही दिनको बिदा लिएको र गृह जिल्लामा स्वयंसेवक दलको संयोजक बनेर अस्थायी आवास निर्माणमा खटिएका छन् । पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको रोकाले बताए।
भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ताहरु पनि खटिएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।
गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।