अन्तर्राष्ट्रिय समुदायको लगातारको दवाब र प्रयत्नपछि इसराइल र हमास गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्न सहमत भएका छन्।
अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार इसराइल र हमासबीचको सो सहमतिलाई इसराइली सरकारले अनुमोदन गरेको छ। सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ। अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २६ विदेशी मुलुकका नागरिक र इसराइली नगारिक गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो।
अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट नभएपनि पहिलो चरणका ५० बन्दी मुक्त भएपछि इसराइलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
हमासले सबै २३९ बन्दी मुक्त गरेवापत इसराइलले पनि आफ्नो हिरासतमा रहेका १५० जना प्यालेस्टिनियन नागरिकहरुलाई मुक्त गर्ने सहमति भएको जनाइएको छ।
इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई हमास(इसराइल युद्ध अन्त्य भएको नठान्न भनेका छन्। ‘हामी युद्धमै छौं। हाम्रो उद्धेश्य पूरा नभएसम्म युद्ध जारी रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
अक्टोबर ७ को बिहानै प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार ४ सय जनाको मृत्यु भएको थियो।
आक्रमणका दिन हमासले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेका थिए। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।