मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ । सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ ।
यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन् ।
राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।
सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ ।
स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए । इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् ।