भदौ १९ काठमाण्डौँ । भारत विश्व क्रिकेटको सबै जसो फर्मेटमा एउटा महारथी हो पावर हाउस हो । ४५ वर्षदेखि अन्तरािष्ट्रय प्रतियोगीता खेलिसकेको भारतले कुनै पनि फर्मेटमा विश्वकपको उपाधीहरु चुमिसकेको छ ।
त्यो पावरहाउससँग उदाँउदै गरेको नेपाली क्रिकेट टोलीको प्रयास सामान्य थिएन , शायद ब्याटिङ हेर्दा लाग्थ्यो गोर्खाली भनेको आत्मविस्वासी र साहसी त्यसै भनिएको हैन ।
श्रीलंकामा सोमबार नेपालका ओपनर कुसल भूर्तेल र आशिफ शेखले बाउन्ड्री लगाउदै ६५ रनको साझेदारी गरे यो ऐतिहासिक रह्यो । अझ आशिफले त भारत बिरुद्ध अर्धसतक जोडेर नाम राख्न सफल भए ।
मध्यमक्रममा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि नेपालको स्कोरलाई माथि पुर्याए । पाकिस्तानसँग खेलेपछि केही अनुभव लिएको नेपाली टोलीले मनछुनेगरी ब्याटिङ गरे र २३० रनको योगफल बनाए ।
तर दुर्भाग्य , बर्षाले खेल डक वर्थ लुईस विधिमा गयो । भारत जस्तो शक्तिशाली टिमलाई २३ ओभरमा जम्मा १४५ रनको मात्र लक्ष्य दिईयो । र उसले सहजै पूरा गर्यो ।
यो खेलमा शुरुमा हेर्दा जित्न सकिन्छ कि भन्ने भए पनि बर्षा र लक्ष्य घटेपछि भने कठिन पर्ने लगभग अनुमान भईसकेको थियो । कस्तान रोहित पौडेल भन्छन् ३० देखि ४० रन बढी आफूहरुले बनाउन सकेको भए , शायद त्यसको रक्षा हुन सक्थ्यो ।
नेपालका दर्शक, समर्थकका रुपमा दलका नेता, उद्योगी, व्यवशायी श्रीलंका पूगेर टिमलाई हौसला दिईरहेका थिए ।
पहिलो पटक एशिया कपमा भाग लिएको नेपालले पाकिस्तान बिरुद्ध शुरुमा घातक बलिङ गर्यो अन्तिम १० ओभरमा रन बढी खर्चदा स्कोर उच्च बनेको थियो । तर ब्याटिङमा कमजोर सावित भएको थियो । नेपालले जम्मा १०४ रन मात्रै बनाएको थियो । तर भारत बिरुद्ध नेपालले ब्याटिङमा उल्लेख्य सुधार गर्यो तर बलिङ र फिल्डिङमा मैदान र मौसमले साथ नदिएको देखियो ।
जे भए पनि देशमा एउटा पनि अत्याधुनिक रंगशाला नभएको नेपाली टिमले कडा मेहेनत र साहसका कारण नै यो स्तरसम्म खेल्न सफल भएको छ । यो खेल नेपालले प्राविधिक रुपमा हारे पनि भावनात्मक रुपमा जितेको छ ।
अझ राम्रो गर्ने, देशमा पूर्वाधार र खेलाडीलाई सम्मान र सुविधा बृद्धि गर्ने र अघि बढ्दै जाँदा हाम्रो देशले क्रिकेट जगतमा ठूलो फड्को मार्नबाट अब कसैले छेक्न सक्दैन । बधाई र शुभकामना छ सबै खेलाडीलाई ।

