राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्। विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन्। सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो। त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन्।
विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो। ‘सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,’ विभागकै एक कर्मचारीले भने। उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन्।
हङकङबाट आएको सामानमा सुन आएको सुराकी पाएपछि राजस्वले रेडी ट्रेडको सोरूममा समेत छापा मारेको थियो। ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो।
राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन्। विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन्।
हङकङको काउलिन सिटीमा उनको कार्यालय छ। उनी मात्र होइन, यसअघि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ। ‘अहिले अनुसन्धान भइरहेको छ। तथ्य र प्रमाणकै आधारमा अनुसन्धान हुन्छ कोहीकसैलाई आरोप लगाउन अनुसन्धानमा तोडमोड हुँदैन,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने।
व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ।
त्यसैगरी जुन २६ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ०२१७ मा उनी दिउँसो साढे १२ बजे नयाँ दिल्ली हुँदै फेरि हङकङ पुगेका थिए। १२ दिनको बसाइपछि जुलाई ५ मा हङकङबाट दुबई हुँदै फ्लाई दुबईको उडानबाट काठमाडौं आइपुगेका थिए। त्यसलगत्तै नेपालमा सुन बरामद भएको थियो। उनी नेपालमा शेयर कारोबारी समेत हुन् ।
उहाँकै योजनामा कम्पनी खुलेको देखिन्छ। बाँकी अनुसन्धान हुँदैछ,’ विभागका एक कर्मचारीले भने। त्यसअघि विभागले उपलब्ध गराएको अर्को विवरणअनुसार अडुकिया मे २६ मा काठमाडौंबाट हङकङ गएको र त्यसको पाँच दिनपछि मे ३० मा काठमाडौं आएका थिए।
गत जनवरी १४ मा पनि उनी हङकङ गएका थिए। एक साता बसेर उनी जनवरी २१ मा क्याथे प्यासिफिकमै काठमाडौं फर्केका अडुकियालाई विभागले सुन बरामद गरेकै दिन शंकाको घेरामा राखेको थियो।
सुन बरामद भएपछि उनका छोरा भागेर दिल्ली पुगेको स्रोतको दाबी छ। आफ्ना विषयमा पनि समाचार प्रकाशित हुन थालेपछि उनी फरार भएको आशंका गरिएको छ। विगतमा उनी गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा मुछिएका थिए।
तत्कालीन लक्ष्मी बैंकका सञ्चालक राजेन्द्र खेतान आफन्त रहेका अडुकियाले गोरखा बैंकमार्फत कमलादीमा फाइनान्सियल टावर बनाउने भनेर ९० करोड ऋण लिएपछि टावर नै नबनाई फरार भएका थिए।
विभाग स्रोतका अनुसार उनीसँगै अहिले आयात–निर्यातमा संलग्न दुई व्यापारी पनि जोडिएका छन्। विभागले उनीहरूका बारेमा पनि अनुसन्धान गरिरहेको र प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गर्ने तयारी गरेको छ।
भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लिनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। रेडी ट्रेडका नामबाट मात्रै ३४ पटक सामान आइसकेको छ। त्यसमध्ये ३३ पटक हङकङबाट र एकपटक दुबईबाट सामान आएको देखिन्छ। १६०, १२०, ८०, ६० र ४० का दरले ब्रेक सु आएको भन्सार विभागले दिएको विवरणमा उल्लेख छ।
साथै त्यसको भन्सार दर समग्रमा ३ हजार ५४० अमेरकी डलर लिएर सो समान छाडिएको देखिन्छ। विभागले बरामद गरेको सुनसहितको ब्रेक सु आउनुअघि रेडी ट्रेडकै नाममा हङकङबाट ब्रेक सु, सेभर र मेकानिकल मोटर गरी १ हजार ९९७ केजी सामान आएको थियो। जसमा २ हजार ७०० थान सेभर एउटा मेकानिकल मोटर र १ हजार १८० थान ब्रेक सु ल्याइएको पाइएको छक। सेभर चीनको दोङ्गोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले पठाएको सो विवरणमा उल्लेख छ। साथै ५२ केजी तौल भएको मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले पठाएको पाइएको छ। सामान्यतया पानी तान्ने मेसिनको तौल २० किलो हुने गर्छ। त्यसैगरी चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाए पनि नक्कली भएको विभाग स्रोतले जनाएको छ।
विभागले अहिले १७ व्यक्ति नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानका लागि तीन जना निर्देशकसहितको टोली खडा गरेको छ।