साउन ८ काठमाण्डौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकै पटक एक क्वीन्टल हाराहारी सुन बरामद भएपछि देशभर यो काण्डले सनसनी फैलाएको छ । हङकङबाट आएको यत्रो सुन विमानस्थल भन्सार जाँचपासमा क्लियर भएर अघि बढ्दै गर्दा गेट बाहिर आन्तरीक राजस्व विभागको टोलीले समात्यो । यदी केही सेकेण्ड मात्र अलमल भएको भए त्यो सुन तस्करको अड्डामा पुग्ने थियो ।
अति संवेदनशील क्षेत्र विमानस्थलबाट एक पटक हैन पटक पटक विभिन्न तरीकाले सुनको ठूलो तस्करी हुने गरेको छ । तर ठूला अपराधी को हुन् कहाँ छन् पत्तै लगाउन सक्दैन सरकारले ।
यस पटक पनि सय किलो सुन त्यस्तै हुने त होईन ? यो प्रकरणमा ट्याक्सी चालक, ब्रेक सु कार्गो गर्ने कम्पनीका मालिक र प्रतिनिधि, भन्सारका कर्मचारी पक्राउ परेका छन् ।
तर सय किलो सुन कसले मगाएको थियो ? के का लागि मगाएको थियो ? र सय किलो सुनको पैसा तिर्ने पात्र को हो ? त्यसको खोजी सरकारले गरीरहेको छ कि छैन ?
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीको जालो पुरै केलाउने र भत्काउने र कसैलाई पनि उम्कन नदिने घोषणा गरेको भए पनि हाल सम्म अनुसन्धानमा सुनका असली मालिक तानिन सकेको छैन । यो अलमल फेरी मुख्य अपराधी उम्काउने निहुँ र उपाय नबनोस् ।
वितेको एक दशकमा विमानस्थलबाट ८ सय किलो बढी सुन नियन्त्रणमा आएको छ । तर पनि तस्करको केन्द्रमा अझै राज्य नपुगेको देखिन्छ । जहिले पनि सुन बोक्ने साना भरिया मात्र पक्राउ पर्ने र जेल जाने अवस्थाको अन्त्य गर । सुन तस्करको सञ्जाल तोड ।
अब धेरै नागरिकको अपेक्षा हो कि सुनका असली मालिक र मुख्य तस्कर को हुन् पत्ता लगाएर सरकारले सार्वजनिक गरी कार्बाही गरोस् ।