जेठ १३ काठमाण्डौँ । नेपालको हरेक रणनीतिक महत्वको विकासमा भारतले कुनै न कुनै स्वार्थ र शर्त राखिदिँदा दुखः हुने गरेको छ । चाहे राजाको पालामा कोदारी राजमार्ग निर्माण गर्दा होस् या अहिले भैरहवा स्थित अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्दा । नेपाल भौगोलिक रुपमा सानो र तीन तिरबाट भारतले घेरिएको मात्र छैन हवाई रुट र समुन्द्री बन्दरगाहको पँहुच पनि भारतसँग जोडिनुको विकल्प छैन ।
यसै बाध्यतालाई भारतले नेपालमाथि आफ्नो राजनीतिक, सैनिक र आर्थिक स्वार्थ अनुकुल काम गर्ने अस्त्र बनाउदै आएको छ । विस्तारै विकासको गतिमा अघि बढ्दै गरेको नेपालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पमा पोखरा र भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरेको छ । तर भारतले सहज रुट नदिदा यी विमानस्थल सञ्चालनमा समस्या पैदा भएको छ खास भरी भैरहवामा ।
यही जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने क्रममा एयर रुट खुलाउन समझदारी हुने अपेक्षा गरिए पनि भारतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ आफूहरुले पाउनु पर्ने शर्त अघि सारेपछि नेपाललाई तनाव भएको छ ।
नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा हवाई मार्ग टुंगो लगाउने कोसिस गरिरहेका बेला भारतीय पक्षले अनौपचारिक रुपमा यस्तो सर्त अघि सारेको हो। हाल नेपालमा अन्तर्राष्ट्रिय प्रवेश विन्दुको अनुमति सिमराबाट मात्रै छ। नेपाल सरकारले भारतसँग भैरहवा र महेन्द्रनगरबाट थप हवाई मार्ग दिन माग गर्दै आएको छ। प्रधानमन्त्री तहमै विभिन्न समयमा छलफल भए पनि अहिलेसम्म भारत हवाई मार्ग दिन तयार भएको छैन।
भारतसँग छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने सहितको टोलीले भारत भम्रण गरेको छ। लामिछानेको टोलीमा नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी लगायत थिए। नेपाली टोली भारतीय अधिकारीहरुसँग छलफल गरेर शुक्रबार फर्किसकेको छ।
पर्यटन मन्त्रालयका अधिकारीका अनुसार भारतीय पक्षसँग बुधबार र बिहीबार छलफल भए पनि भारतीय पक्षले हवाई मार्ग दिने प्रतिबद्धता जनाएको छैन।
बरु भारतले राखेको शर्तले नेपालको अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ उसैलाई दिँदा थप जोखिम पर्ने भएकाले यस सम्बन्धि सरकारले तत्काल कुनै निर्णय गर्न सक्ने संभावना देखिँदैन ।
भारत भैरहवा विमानस्थलको ठेक्का चिनियाँ कम्पनीले पाएको विषयमा असन्तुष्ट छ भने पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माण भएकोले उडनमा सहजीकरण गर्न मानिरहेको छैन। भैरहवामा मौसम खराब हुँदा जहाज अवतरण गर्ने उपकरण सञ्चालनमा समेत भारतले अनुमति दिएको छैन।
भैरहवाको गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले बनाएको थियो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनामा करिब ११ अर्ब खर्च भएको छ।
भारतले यो विमानस्थलमा मात्र हैन, जलविद्युत, वैकल्पिक पारवाहनको खोजीमा समेत समस्या खडा गर्ने गरेको छ । भारतले नाका बन्दी लगाएका बेला मात्र चीनतिरको नाका र पारवहनको कुरा उठेपनि अरु बेला कुनै ठोस कदम चालिएको छैन ।
नेपालमा चीनीया लगानीमा उत्पादित जलविद्युत भारतले नकिन्ने भन्दै अड्को थापिदिने गरेकाले कामै नगरेका भारतीय कम्पनीलाई उसैको स्वार्थ अनुसार पटक पटक म्याद थप्दै ईजाजत रोकिराखिएको छ । अपरकर्णाली लगायतका योजनाको अवस्थाले त्यही पुष्टी गर्दछ । पश्चिम सेती लगायत विभिन्न परियोजना चीनीया कम्पनीबाट खोसेर भारतीयलाई दिनुले नेपालमाथिको दबाब स्पष्ट हुन्छ ।
जलविद्युत पनि तत्कालका लागि भारतलाई बेच्नुको विकल्प छैन । चीनमा वा सो बाटो प्रयोग गरेर अन्यत्र निर्यातको विकल्प नहुँदा सम्म भारतको यो दबाब स्वीकार्दै केही बिजुली बेच्न नेपाल बाध्य हुनेछ ।
कहिले सीमानाका समस्या, कहिले नाकाबन्दीका हामीले भारतसँग झेलिरहेको चूनौतीहरु हुन् । भारत एक विकासको गतिमा तीव्र रुपमा अघि बढीरहेको छिमेकी भएका नाताले नेपालको विकासमा जे जे गर्दा फाईदा हुन्छ त्यसमा सहजिकरण गर्नु पर्छ नकि अवरोध ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषयले गंभीरता पाउनु पर्छ भन्ने चौतर्फी सुझाव छ ।