बैशाख २१ वुटवल । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
सन्दीपलाई प्रहरीले वुटवलबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेकै दिन नियन्त्रणमा लिएको हो ।
यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिने क्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए । उनीहरुकै बयानका आधारमा यस अघि पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई पक्राउ परेका थिए । उनी र उनको छोराले पाँच करोड बढी पैसा बुझेको पाईएपछि प्रहरीले पक्राउ गरेको हो । उनका छोरा निरज राई फरार रहेका छन् ।
सन्दीपलाई वुटवलबाट काठमाण्डौँ ल्याउने तयारी भएको छ ।
यसअघि प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ। उनी गृहसचिव हुँदा भएको घटनामा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो।
उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।
प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।
२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।
इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।
उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाइएको छ। परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।
अब अझै ठूला नेता र पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक मगर पनि पक्राउ पर्ने संभावना रहेको छ ।
यस गिरोहले थुप्रै व्यक्तिहरुलाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाउने बहानामा ४० करोड बढी ठगी गरेको थियो । उजुरी दिनेको संख्या पनि बढिरहेको छ ।