जिल्ला र प्रदेशको मात्र नभई देशकै सबै भन्दा दोश्रो ठुलो रंगशालाको रुपमा मानिने नारायणी रंगशाला हालको समयमा जिर्ण र अव्यवस्थित हुदै गएको छ । जसका कारण खेलाडीहरु थप मारमा पर्ने गरेका छन् ।
मधेस प्रदेशको सबै भन्दा ठुलो र नेपालकै दोश्रो ठुलो रंगशालाको रुपमा मानिने नारायणी रंगशालाको अवस्था दिन प्रतिदिन जिर्ण हुनुको साथै अव्यवस्थित हुन थालेपछि खेलाडीहरु थप मारमा परेका छन । बिगतका दिनहरुमा केन्द्रिय स्तरका खेल समेत भएको नारायणी रंगशालामा हालको समयमा जिल्लास्तरीय समेत खेल हुन पाएको छैन । स्थानीय, प्रदेश स्तरीय र केन्द्रिय लेबलका नेताहरु नारायणी रंगशालातर्फ ध्यान नै नपुरयाएका कारण अव्यवस्थित हुन थालिएको आरोप खेलाडीहरुको रहेको छ । नारायणी रंगशालामा प्रति दिन सयौं खेलाडीहरु आउने गरेपनि अव्यवस्थित देखेर निराश हुने र घर फर्किने गरेका छन । नारायणी रंगशालामा फुटबल, कवडी, कराते लगायत बिभिन्न किसिमको खेल हुने गरेपनि जथाभावी मोटरसाइकल, साइकल गुडाउने गरेको कारण खेलाडीहरुको संख्यामा समेत कमि हुन थालिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १३ अवस्थित रहेको नारायणी रंगशालाको बिषयमा राष्ट्रिय खेलाडी पुष्पराज यादवले नारायणी रंगशालाको चारै तिरको प्रवेशद्वार नै भत्किएको बताए ।
अर्का खेलाडी मण्डल चौधरीले तीन तहकै सरकारले नारायणी रंगशालाप्रति चासो नदेखाएकै कारण बेहाल भएको बताए । नारायणी रंगशालामा निर्माण भएको भौत्तिक संरचनाहरु दिनप्रति दिन भासिनुको साथै ग्राउन्ड समेत बेवारिसे भएको उनको भनाई छ । रंगशाला भित्र जथाभावी गाई बस्तु प्रवेश गर्ने, खाल्डा खुल्डी रहेको ग्राउन्डको मर्मत नहुने गर्दा खेलाडीले सास्ती खेप्नु परेको उनको भनाई छ ।
अर्का राष्ट्रिय खेलाडी संगिता यादवले वीरगंजको धरोहरको रुपमा रहेको नारायणी रंगशाला भित्र खेलाडीहरुको कम र लागु औषध गाजा सेवनकर्ताहरुको संख्यामा बृद्धि भएको बताइन । उनले नारायणी रंगशाला भित्र जथाभावी सवारी साधन सिख्न आउने गरेको समेत जिकिर गरिन । जथाभावी सवारी साधन चलाउनेहरु संग केही सोध्न अथवा भन्न जादा अपशब्द प्रयोग गर्दै गाली गलौज समेत दिने गरेको उनको भनाई छ ।
यता स्थानीय अलि हुसेनले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको खेल समेत भएको नारायणी रंगशाला हालको समयमा लोप अवस्थामै रहेको उल्लेख गरेका छन् । मधेस प्रदेशको मुख्यमन्त्रीले समेत नारायणी रंगशालाप्रति चासो नदेखाएकै कारण यस्तो अवस्थामा पुगेको स्थानीय अलि हुसेनले बताउनु भयो ।
मुलुककै दोश्रो ठुलो र मधेस प्रदेशको सबै भन्दा ठुलो रंगशालाको रुपमा मानिने नारायणी रंगशाला प्रति तिन तहकै सरकार गम्भीर हुन अवाश्यक देखिन्छ ।
