दुर्गमका विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

दुर्गमका विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, १० फागुन । दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थानमा वर्षौ अघिदेखि निःशुल्क शिविर सञ्चालन गराउँदै आएका छन् । अहिले सुदूरपश्चिमको अछाम र कर्णालीको कालिकोटका विपन्न बिरामीहरुको निःशुल्क उपचारका लागि केएमसीका विशेषज्ञ डाक्टरहरुको टोली लिएर सांसद डा.शर्मा त्यहाँ पुगेका हुन् ।

सुगम क्षेत्रमा भन्दा दुर्गममा उपचार नपाएर विरामीहरु रोगको पीडा सहेर बस्न बाध्य हुने भएकाले उनीहरुलाई निःशुल्क उपचार गरेर सहयोग गर्न सुदूरपश्चिम गएको सांसद शर्माले बताए । ‘सुगममा बस्ने र पैसा हुनेलाई त उपचार पाउनु सामान्य कुरा हो, तर दूरदराजका विपन्न नागरिकहरुले पैसा अभावमा उपचार नपाएर पीडा झेल्न बाध्य छन्,’ सांसद शर्मा भन्छन्, ‘यस्तै दुर्गम क्षेत्रका बिपन्न नागरिकहरुलाई निःशुल्क उपचार गराउँन सुदूरपश्चिम आएका छौं, सम्भव हुनेलाई यहीँ उपचार गर्छौ, यहाँ उपचार हुन नसक्नेलाई केएमसी र नोबेलमा लगेर आवश्यकता अनुसार ओपनहार्ट सर्जरी, किड्नी ट्रान्सप्लान्टदेखि सबै अप्रेशन र उपचार निःशुल्क गर्छौ ।’

सांसद शर्मासँगै उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा पनि सोही टोलीमा अछाम पुगेकी छन् । डाक्टरहरुको सो टोलीले अछामको तीन स्थान र कालिकोटको एक स्थानमा शिविरमार्फत विरामीको उपचार गर्दैछ । गत आइतवार अछाम पुगेको सो टोली विपन्न विरामीको उपचारका लागि एक साता अछाम र कालिकोटमा खटिने डा.शर्माले बताए । सो टोलीले शिविरमा विरामीको स्वास्थ्य परीक्षणदेखि सामान्य शल्यक्रियासमेत गर्नेछ । विरामीलाई भिडियो एक्सरे, मुटुको जाँच इको र इसीजी, ब्लड टेष्ट लगायत सेवा पनि शिविरमै प्रदान गरिदैछ ।

सो टोलीले अछामको पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर आइतवार र सोमबार विनायकमा शिविर सञ्चालन गरेको छ । दुई दिन सञ्चालित शिविरमा ३ हजार ७ सय ६२ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । जसमध्ये आँखा, बालरोग, मुटुरोग, स्त्रीरोग, हड्डी र नाक कान घाँटी सम्बन्धी समस्या भएका १८२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको छ ।

त्यस्तै, अछामको मंगलसेन नगरपालिकासँग सहकार्य गरेर मंगलबार अछाम बहुमुखी क्याम्पसमा गरिएको शिविरमा २ हजार १ सय ३१ विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । त्यहाँ उपचार सम्भव नभएका ६५ विरामीलाई अस्पताल रेफर गरिएको छ । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरहरुमा विरामीको भीड लाग्ने गरेको छ ।

अब, अछामको कमलवजार नगरपालिका र कालिकोटको मान्मामा निःशुल्क शिविर गरिदैछ । शिविरमा उपचार सम्भव नभएका बिरामीहरुलाई केएमसी र नोबेलमा आवश्यकता अनुसार सबै किसिमको अप्रेशनसहितको निःशुल्क उपचार गरिनेछ । त्यहाँबाट बिरामीहरुलाई अस्पतालसम्म ल्याउँन सम्बन्धित पालिकाहरुले सहयोग गर्ने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी