माओवादी १० वर्ष लामो शसस्त्र जनयुद्ध पछि ६३ साल मंसीर देखि शान्ति सम्झौता मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्यो । ६४ साल चैत्र २८ गते भएको संविधान सभाको पहिलो निर्वाचनमा माओवादी पहिलो शक्ति बन्यो । ६०१ सांसद मध्य माओवादीको २३८ जना सांसद चुनिए ।
तर ७० साल सम्म पनि संविधान बनाउन नसकेपछि संविधान सभा विघटन भयो । त्यसपछि माओवादी पनि ६९ साल तिरै विभाजित बन्यो । ७० सालमा माओवादी तेस्रो शक्तिका रुपमा मात्रै संविधान सभामा आयो । काँग्रेस र एमाले पछि मात्रै माओवादीको हैसियत बनेकाले उसले आफ्ना सबै एजेण्डाहरु संविधानमा समावेश गर्न सकेन ।
त्यसपछि बाबुराम भट्टराईले पनि ७२ सालमा माओवादी छाडेर नयाँ शक्ति बनाए ।
७४ सालको निर्वाचनमा माओवादीले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा प्रत्यक्षमा ३६ सहित ५३ सिट जित हात पारेको थियो । तर नेकपा नै विघटन भएर फेरी एमाले र माओवादी ब्युतिएपछि यो चुनावमा काँग्रेस सहितका दलसँग माओवादीले गठबन्धन गर्यो ।
४४ सिटमा उम्मेद्धारी दिएको माओवादी १८ सिट प्रत्यक्ष सहित जम्मा ३२ सिटमा खुम्चियो । यसले माओवादी निरन्तर कमजोर भएको ओरालो लागेको संकेत गर्दछ ।
तर पुष १० पछि माहौल परिवर्तन भयो । सो गठबन्धनबाटै आधा कार्यकाल प्रधानमन्त्रीमा दावी गरेका प्रचण्डलाई देउवाले स्वीकार नगर्दा एकाएक बालकोटमा केपी ओलीसँग छलफल गर्न पुगेका प्रचण्ड तुरुन्तै सहमति गरेर प्रधानमन्त्रीमा नियुक्त भए ।
आधा कार्यकाल मात्रै प्रधानमन्त्री आफूले चलाउने सहमति गरेका प्रचण्डले राष्ट्रपति , सभामुख जस्ता पद एमालेलाई दिने सहमति गरिसकेका छन् ।
उनले २६ गते विस्वासको मत पाउने कि नपाउने भन्ने चर्चा र अड्कलबाजी काटिँदै गर्दा एकाएक अर्को माहौल तयार भयो । नेपालमा संसदीय व्यवस्थाको ईतिहासमै पहिलो पटक संसद प्रतिपक्षी दल बिहीन बनेको छ ।
दुई सांसद चित्र बहादुर केसी र प्रेम सुवाल प्रतिपक्षमा रहे पनि उनीहरुको पार्टीले थ्रेस होल्ड नकटाएकाले प्रतिपक्षी दलको रुपमा उभिन पाँउदैनन् ।
यसरी हेर्दा शुरुमा प्रचण्डलाई सत्तो सराप गर्ने ओली प्रधानमन्त्री बनाउन तयार भए । त्यसपछि विस्वासको मत दिने बेला सम्म आईपुग्दा प्रधानमन्त्री दिनै नमानेका देउवा पनि विस्वासको मत दिन तयार भएर दिए पनि ।
यसले ९९ प्रतिशत भन्दा बढी सांसदको विस्वासको मत पाएका प्रचण्डले नेतृत्व गरेको आफ्नै पार्टी भने कमजोर छ । यसको सांगठिक संरचनाहरु अस्तव्यस्त छन् । विभिन्न गुट उपगुटको शिकार भएका कारण माओवादी जनाआधार भएका ठाँउमा समेत पराजीत भएको छ ।
कमजोर माओवादीका शक्तिशाली नेतृत्व प्रचण्डले आगामी दुई वर्ष भित्र सुसासन, समृद्धि र आर्थिक वृद्धिको जुन संकल्प लिएका छन् । त्यो पूरा गर्न त्यति सहज छैन । किन भने मन्त्रीपरिषद् भित्रै म प्रतिपक्षी भन्ने रवि लामिछाने, सरकारलाई नियन्त्रण गर्न बनाईएको राजनीतिक संयन्त्रको संयोजकमा केपी शर्मा ओली रहेका छन् ।
प्रचण्डलाई काम गर्न त्यति सहज नभए पनि प्रधानमन्त्रीका हैसियतमा गर्न सक्ने सुधारका अधिकतम काम गरेमा उनको तेस्रो कार्यकाल सफल हुने छ र त्यसको फाईदा देशलाई र माओवादी दुबैलाई हुनेछ ।
चुनावमा व्यक्त गरेका प्रतिवद्धता र जनताको आशालाई आफूले पूरा गर्ने ऐतिहासिक जिम्मेवारी र चूनौती आएको उनले बताएका छन् ।