मंसिर ४, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार बिहान चितवन पुगेर मतदान गरेपछि प्रचण्डले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको बताए ।
कुन पार्टीले कति मत ल्यायो भन्ने महत्वपूर्ण नभएर आवधिक निर्वाचन सम्पन्न हुनु ठूलो भएको उनको भनाई छ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका प्रचण्डले आवधिक निर्वाचन सम्पन्न हुनु भनेको संविधान र व्यवस्थाले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण भएको बताए । निर्वाचनमा सहभागिता आफैमा ठूलो प्रमाण पनि भएको उनको भनाई थियो ।
प्रचण्डले निर्वाचनको पक्षमा राम्रो माहोल देखिएको बताए । उनले पाँच दलीय गठबन्धनले निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गरे । उनले निर्वाचनपछि मुलुक शुशासन र समृद्धिमा जाने विश्वास व्यक्त गरेका थिए ।