प्रभु शाह हरियो सर्प हुन् एक दिन डस्छन् : रिजाल

प्रभु शाह हरियो सर्प हुन् एक दिन डस्छन् : रिजाल

  • मङ्लबार, अशोज २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, २५ असोज । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ ।

गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् ।

‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ ओलीले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा भनेका छन् । साथै ओलीले साहले संदिग्ध गतिविधि गर्दै आएको सूचना पहिल्यै आए पनि विश्वास नगरेको बताए ।

रौतहटमात्र नभएर मधेस प्रदेशमै एमाले खाली गराउने गरी साहको गतिविधि भइरहेको सूचना सत्य रहेको उम्मेदवारी दर्ताले पुष्टि गरेको भन्दै ओलीले पनि उनीमाथि कारबाही गर्ने संकेत गरेका छन् ।

ओलीले साहबारे सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि धारणा सार्वजनिक गर्न थालेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साहलाई हरिया सर्पको संज्ञा दिँदै एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने बताएका छन् ।

‘चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरूका बारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रिजालले लेखेका छन्, ‘तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ- प्रभु साहजस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वाकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ’रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले) का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन ।’

चुनावको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी प्रभु साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको एमाले निकट स्रोतले जानकारी दियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी