२० असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुखाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ । मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेका बच्चालाई खुवाउने रुखा खोकीका कुनै औषधि औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।
गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको छ ।
बुधबार आयोजित मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेका चार प्रकारका कफ र कोल्ड सिरप (रुखा(खोकीको औषधि) खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको बताएका थिए ।
मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’
डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी फर्मास्युटिकल्सडद्वारा हरयानामा बनेको हो । यी उत्पादनको गम्भीर असर गाम्बियामा भेटिएता पनि अरु देश र प्रान्तमा पुगेको हुन सक्ने आंकलन गरिएको छ । डब्लूएचओले यी उत्पादनले विशेषगरी बालबालिकामा गम्भीर असर र मृत्यु नै हुन सक्ने चेतावनी दिएको छ ।
पश्चिम अफ्रिकामा रहेको गाम्बियाका चिकित्सा अधिकारीहरूले जुलाईको अन्त्यमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा तीव्र रुपमा मिर्गौलामा समस्या वृद्धि भएको पत्ता लगाएपछि यसबारे सोधिखोजी भएको हो । गाम्बियाको सरकारले हाल सबै सिरपको प्रयोगलाई प्रतिबन्ध गरेको छ । यसको सट्टा ट्याब्लेट प्रयोग गर्न आग्रह गरेको छ ।
डब्लूएचओले यी चारवटै सिरपको नमुना परीक्षण गर्दा भारी मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा पाइएको थियो । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानवका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।
डब्लूएचओका प्रमुख डा. गेब्रेयसले ती कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदयविदारक रहेको बताए । उनले भने ‘यी उत्पादनहरू हाल गाम्बियामा मात्र देखिए पनि अरु देशले यी उत्पादनको निगरानी र अनुगमन बढाउन आवश्यक छ।’ कफ सिरपका कारण मृत्यु भएका बालबालिकाका अभिभावकले गाम्बियामा न्यायको माग गरिरहेका छन् । भारतीय सरकारले यसको उत्पादनबारे छानबिन गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अरु बिरामीलाई हानी हुनबाट रोक्न यसको बिक्रीवितरणमा रोक लगाउन आवश्यक रहेको बताएको छ । यी उत्पादनहरूका सबै ब्याचहरू राष्ट्रिय नियामक निकायहरुले विश्लेषण नगरेसम्म असुरक्षित मानिएको छ ।