नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

गलेश्वर, १९ असोज । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।

छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् ।

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश ९इजरायल० मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन् ।

रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन् । उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ ।

हजुरबुवा ९बाजे० को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन छिन् ।

एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर, परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिकपले मात्रै होइन मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।

तर शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरु मगाइदिने गर्थिन् ।

घरका सदस्यलाई अरु काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउथिन् । परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरु सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायतका कुराहरू गर्छन् ।

इजरायलमा ज्येष्ठनागरिकको स्याहार गर्ने काम गरिरहेकी विष्णुमाया अहिले आफ्ना १०१ वर्षीय हजुरबुवाको स्याहार सुसारका लागि घर फर्किएकी छन् । उनले विदेश हुँदा पनि अनलाइनबाटै हजुरबुवाको स्यार गर्थिन् । अहिले उनको स्याहारले हजुरबुवा शिवलाल बौरिएका छन् ।

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको ९वृद्धवृद्धाको स्याहार सुसारका विधि० तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थालेकी छन् ।

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्छिन् ।

गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उनी गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् ।

युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उनलाई भेट्न आउनेहरुको भीड नै लाग्ने गर्छ ।

एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवान्का रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उीहरुले आफ्नो जीवनकालमा गरेका कामहरु समाजका लागि अनुकरणीय हुने गर्दछन् ।

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक छन् । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उनीहरुलाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउँछिन् ।

आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आएकी छन् ।

शिवलालका एक छोरा र दुई छोरी छन् । छोरीहरु विवाह गरेर आआफ्नो कर्मघरमा छन् । छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्छन् ।

शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उनको रेखदेखमा खटिने गर्छन् ।

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउँछिन् । उनलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आएकी छन् ।

बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ । उनले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उनीहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैलाई आग्रहसमेत गर्छीन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी