काठमाडौं, ८ भदौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता भएको हो ।
दुई शीर्ष नेताबीच प्रतिनिधिसभामा पेश भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, नागरिकता विधेयक र आगामी निर्वाचनको सम्बन्धमा छलफल भइरहेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (कोइराला)ले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक मंगलबारको बैठकमा पेश गरेका थिए। उक्त विधेयकका कतिपय प्रावधानमा एमाले, सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग मात्र होइन, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू पनि असन्तुष्ट बनेका छन्।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ को प्रतिनिधि सभामा बुँदागत छलफल नगरी हुबहु पारित गरेपछि एमालेले विरोध गरेको छ। सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन घोषणा गरेको छ। देउवा सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी कतिपय निर्णयहरु एकलौटी ढंगले गरेको भन्दै एमालेका नेताहरुले असन्तुष्ट व्यक्त गर्दै आएका छन्।