भदौ ६ काठमाण्डौँ । गत स्थानीय तहको निर्वाचनमा बुढा नेताहरु र पार्टीहरुले देश विगारेको ,विकास गर्न नसकेको भन्दै ठाँउ ठाँउमा स्वतन्त्र उम्मेद्धारीको लहर चल्यो । काठमाण्डौ र धरान जस्ता शहरहरुमा लौरो चुनाव चिन्ह लिएर लडेका युवाहरु जितेर पनि आए ।
्
त्यसपछि अब मंसीर ४ मा हुने संघ र प्रदेशको चुनावमा पनि स्वतन्त्र उम्मेद्धारी दिनेहरुको तरखर देखिराखिएको छ ।
यही बेला राजनीतिक पार्टीका बृद्ध हुँदै गएका नेताहरु अन्तिम पटक भन्दै चुनावमा होमिन शुरु गरेका छन् ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम पटक तनहुँ १ बाट चुनाव लडेर जितेर मात्र मर्ने ईच्छा रहेको भन्दै गठबन्धनकै भरमा चुनाव लडेर जित्ने योजनामा छन् । तर उनलाई एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठले छाड्न मानिसकेका छैनन् । उनी यस अघि पनि प्रधानमन्त्री बन्ने ईच्छा बोकेर संसदमा १७ पटक सम्म भिडेका थिए ।
यसै गरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि यो अन्तिम पटक भन्दै ईलाम क्षेत्र नं १ बाट चुनाव लड्ने बताउछन् । उनी गठबन्धनको तर्फबाट चुनाव लड्ने संभावना छ । उमेर र स्वास्थ्य दुवै हिशाबले उनले यो चुनावलाई अन्तिम भनेको देखिन्छ ।
त्यसो त माओवादी अध्यक्ष प्रचण्डले पनि अब लाष्ट ईनिगंका रुपमा प्रधानमन्त्री हुन चाहेको सन्देश सार्वजनिक रुपमा दिईरहेका छन् । अहिले ७० वर्ष भन्दा कम उमेरमै रहेका प्रचण्ड चितवन क्षेत्र नं ३ बाट गठबन्धनका तर्फबाट चुनाव लड्दैछन् ।
एमाले अध्यक्ष केपी ओलीले अघिल्लै प्रधानमन्त्रीको कार्यकालमा पार्टी भित्र आफू अब प्रधानमन्त्री नहुने भन्दै थिए । तर सरकारबाट हटेपछि भने अबको चुनाव पछि एमालेले बहुमतको सरकार बनाउने भन्दै फेरी प्रधानमन्त्रीका रुपमा अघोषित रुपमा अघि सारिएका छन् एमालेका तर्फबाट ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले पनि अबको कार्यकाल पार्टीका लागि अन्तिम भनेका थिए । काँग्रेसको विधान र मर्यादाको हिशाबले उनी अर्को कार्यकालका लागि सभापति भएनन् भने प्रधानमन्त्री हुने संभावना चाँही कम रहन्छ । तर चाहेमा चुनाव लड्न सक्छन् । यस पटक उनी डडेलधुराबाटै निर्वाचन लड्ने तयारीमा छन् ।
यसै गरी एमाले छाडेका वामदेव गौतम पनि उमेरले ७० माथि छन् । उनी नेकपा हुँदै खेरी प्रधानमन्त्री बन्ने आकाक्षा व्यक्त गर्दै आएका थिए । राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न मिल्ने गरी कानुन संसोधन गर्ने क्रममा यो वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि गरिएको भन्दै आलोचना भएपछि त्यो स्थगित भएको थियो ।
अहिले राष्ट्रिय सभामा रहेका गौतम माओवादीको हँसिया हथौडा चुनाव चिन्हबाट लड्ने भएका छन् । उनी बर्दिया र प्युठान मध्य एक स्थानबाट चुनाव लड्ने छन् ।
लोसपाका महन्त ठाकुर पनि ८० वर्ष नजिक पुगेका छन् । उनी पनि यो निर्वाचन लड्ने तयारीमा छन् ।
अहिले खास गरी केही नेता ७० माथि पुगिसकेका र केही ७० नजिक पुगेका गरी थुप्र्रै नेता, पूर्व प्रधानमन्त्री , मन्त्री भईसकेकाहरुको यो मंसीर चारको ब्याटल अन्तिम हुने देखिन्छ । उमेर, स्वास्थ्य मात्रै हैन पार्टी भित्रको युवा पक्ति र सामाजिक रुपमा पनि बुढा नेता भन्दै हुने विरोध र व्यग्यका कारण उनीहरु यो निर्वाचनलाई अन्तिम बनाउन तयार भएको देखिन्छ ।
यी चाहना राखेर भिड्नेहरु को को निर्वाचित हुने छन् त्यो प्रतिक्षाको बिषय छ ।