साउन २९ काठमाडौँ । सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए ।
गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ ।
दलहरुले बढी बढी सिट माग दावी गर्दा गठबन्धन भित्र सहमति हुन सकेको छैन ।