साउन २९ काठमाण्डौँ । नेपाली समाजमा एउटा उखान छ घुमिफिरी रुम्जाटार । अर्थात जता जता कुदे पनि फर्किने ठाँउ उही ।
यही उखान यति बेला नेपाली राजनीतिमा सबै भन्दा अध्ययनशील नेता डा. बाबुराम भट्टराईको हकमा लागू हुने देखिएको छ । ७२ सालमा संविधान जारी भएपछि उनले अब माओवादीमा रहन नसक्ने र कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै अलग्गै नयाँ शक्ति नेपाल घोषणा गरेका थिए । त्यो शक्ति पनि चुनावमा खासै परिणाम ल्याउन नसकेपछि उनले अशोक राई, उपेन्द्र यादव हुँदै महन्त ठाकुरहरु समेत मिसिएको जसपा सम्म हाम फाले ।
जसपा विभाजित भएर उपेन्द्र यादव र उनी मात्रै बाँकी रहेका बेला पनि उनी उपेन्द्र यादवसँग टिक्न सकेनन् । उपेन्द्र यादवले उनलाई कार्बाही गर्यो ।
त्यसपछि पटक पटक प्रयोग र परीक्षण भईरहनु पर्ने भन्दै नेपाल समाजवादी पार्टी बनाएका भट्टराई अन्ततः नयाँ पार्टीबाट हैन आफ्नै पुरानो घर माओवादीसँगको मोर्चाबन्दीका आधारमा हँसिया हथौडा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा जान सहमत भएका छन् ।
यसका लागि उनले माओवादी अध्यक्ष प्रचण्डसँग पटक पटक वार्ता गरीसकेका छन् । र नेताहरु सहमतिको नजिक पुगिसकेको बुझिएको छ ।
यद्यपि, यो सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।
डा. बाबुराम भट्ुराई ६४ सालको निर्वाचनमा सबै भन्दा बढी मत प्राप्त गर्ने सभासद थिए । ७० सालमा पनि उनले निर्वाचन जितेका थिए भने ७४ सालमा पनि काँग्रेसको समर्थनमा जितेका थिए ।
यस पटक गोर्खाको तस्वीर बदलिएको छ । अधिकाश स्थानीय तह यति बेला माओवादी केन्द्रले जितेको छ । काँग्रेसले दुई वटा मात्र पालिका जितेको छ । बाबुराम भट्टराईले जसपालाई कुनै पनि स्थानीय तह जिताउन सकेनन् ।
त्यसैले पनि गोर्खाबाट निर्वाचन लडेर एक्लै जित्न अब बाबुराम भट्टराईका लागि फलामको चिउरा सावित हुने निश्चित छ ।
यही आंकलन गरेर बाबुराम अरुसँग गठबन्धन भए पनि नभए पनि माओवादीसँग मोर्चाबन्दी गर्न तयार भएका हुन् ।