साउन २० काठमाण्डौँ । नेपालले चीनलाई आस्वस्त पार्दै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट गरेको छ । आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको हो ।
गत मंगलबार चीनको दबाबका बाबजुद अमेरीकी सभामुख न्यान्सी पेलोसीले ताईवान भ्रमण गरेपछि तनाव बढेका बेला नेपालले चीनको चासो संवोधन गरेको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् ‘दुवै मुलुक (नेपाल र चीन) ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन्,’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’
उनले परराष्ट्रमन्त्रीको साउन २४ गतेदेखि हुने भ्रमणलाई ताईवान मामलासँग नजोड्न आग्रह पनि गरिन् ।