वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता, भन्छन्- ‘साथीहरुको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो’

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता, भन्छन्- ‘साथीहरुको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो’

  • सोमवार, साउन ९, २०७९
  • इन्दिप कोइराला

  • 9.9K
    SHARES

बारा, ९ साउन । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।

निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।

वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भएपनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ । प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए । ‘कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ,’ निरीक्षक ओलीले भने, ‘उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।’ आफूले पत्र अध्ययन गर्न पाएको भए झुटो विवरणको आधारमा यसरी नागरिकता बनाउन रोक्ने पनि उनको बताए ।

वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको इलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए । उनले नक्कली आमा र बुबा बनेका दुबैजना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिए ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । प्रहरी निरीक्षक ओलीले नक्कली आमा÷बुबा बन्नेहरु हाल फरार रहेको र खोजी कार्य भइरहेको बताए ।
भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको भन्दै गाउँमा हल्ला चलेपछि वडा कार्यालयले खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यालयमा आवेदन गरेको हो ।

आफूहरुलाई झुक्याएर नक्कली कागजपत्रको आधारमा नागरिकताको सिफारिस बनाएर लगेको वडा अध्यक्ष गोलेले बताए ।

‘आमा-बुबा बन्नेहरुलाई चिनेको थिए, तर नक्कली छोरीलाई चिनेको थिएन,’ वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भने, ‘साथीहरुको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो ।’ गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले पनि जानकारी पाएको उनले बताए ।

राईको बुबाआमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेसको वडा पार्टी सभापति सोनामसिंह गोलेका भाइ र बुहारी हुन् । दार्जिलिङ्गमा रहेका नातेदारमार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन गोले परिवारले सहयोग गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी