साउन ४ काठमाण्डौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि हराएको र लुकाइएको पैसा बजारमा आउने ठोकुवा गरेका छन् ।
आज अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने दावी गरेका हुन् ।
‘सधैंभरी मान्छेले पैसा लुकाएर राख्छ र ? सरकार चेन्ज हुनेबित्तिकै लुकाएको पैसा बाहिर निस्किहाल्छ’, उनले भने, ‘जुन प्रक्रियामा लान खोजेका छन्, त्यो प्रक्रियामा लान त सम्भव छैन, वैधानिक प्रक्रियामा प्रवेश गर्नैपर्छ ।’ उनले गलत नीति अन्तर्गतको गलत सरकार भएको भन्दै त्यो नीति भएको सरकारबाट मुक्त भएसँगै त्यस प्रकारका प्रवृत्तिमाथि छानविन थालिहाल्ने बताए ।
एमाले सरकारमा आएमा देशमा आर्थिक संकट आउन नदिने पनि उनको जिकिर छ ।
प्रचण्डलाई व्यग्य गर्दै पोखरेलले १२ प्रतिशत जनमत नहुने पार्टीको नेता देश विदेश प्रधानमन्त्री खोज्न दौडिएको बताए ।
महासचिव पोखरेलले कालोधन सेता बनाउन खोज्नेहरूले गभर्नरमाथि आक्रमण गरेको आरोप पनि लगाए । गभर्नरमाथि आक्रमण हुनुमा वित्तिय अराजकता मच्चाउने र कालो धनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दावी पोखरेलको छ ।