असार ३१ वीरगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् ।
वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपा फुटाउने षड्यन्त्र परास्त भएको बताए ।
पार्टी विधान बिपरीत बाबुरामले गुटको बैठक बोलाएको भन्दै संघीय परिषद् अध्यक्षलाई बैठक बोलाउने अधिकार नभएको दाबी यादवको छ ।
वीरगन्जमा २९ र ३० गते बसेको बैठकमा दुई तिहाईभन्दा बढी केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको यादवले बताए ।
बाबुराम भट्टराई , महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीलगायत ९ जनालाई पार्टीको हितविपरीत कार्य गरेकाले जिम्मेवारीबाट मुक्त गने निर्णय गरिएको पनि उनले बताए ।
कार्यकारणी र केन्द्रीय समिति लाई पुनर्गठन गर्ने, विधान संशोधन गर्ने लगायतका पार्टी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउने यादवले बताए ।
भट्टराई पक्षले जसपा कब्जा गर्ने प्रयास सफल हुन नसके पछि अब नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको बुझिएको छ ।